ओलीले संसद भङ्ग गर्न सक्ने कांग्रेस नेता थकालीको खुलासा, बालुवाटार डिजाइनको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले प्रतिनिधि सभा शुक्रबार विघठन हुन सक्ने चेतावनी दिएका छन् ।

बिहीबार राति पूर्वसांसद समेत रहेका कांग्रेस नेता थकालीले सामाजिक सञ्जालमार्फत संसद विघठन गरेर प्रधानमन्त्री खड्गप्रसाद ओलीले निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको बताए । जनताको संघर्षले ल्याएको संविधानलाई प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर उल्लंघन गरेर समाप्त पार्न लागेको बताएका छन् ।

‘सम्भवतः भोलि वर्तवान संघीय संसदको विघटन हुनेछ’, कांग्रेस नेता थकालीले भने, ‘कथित तोकिने निर्वाचन घोषणाको लागि घोषणा मात्र हुनेछ ।’

पूर्वमन्त्री थकालीले निर्वाचनको घोषणा गरेर ओली तोकिएको समयमा कुनै पनि हालतमा निर्वाचन नगराउने दाबी गरेका छन् ।

कोरोना महामारीका बेला जनताको जीवन रक्षा गर्ने बेला सत्ताको खेलमा लागेको भन्दै उनले ओलीको कठोर आलोचना गरेका छन् ।

‘ओलीजीको राजीनामा आएको छैन । विश्वाको मत लिएको छैन’, उनले भने, ‘प्रधानमन्त्रीको पद रिक्त भएपछि संविधानको धारा ७६ को उपधारा (५) कार्यान्वयनमा जान्छ । पहिला राजीनामा दिनुपर्छ ।’

कांग्रेस नेता थकालीले राष्ट्रपतिबाट भएको गम्भीर गल्तीलाई सच्याउन सुझाव दिएका छन् ।

कांग्रेस नेता थकालीले प्रधानमन्त्री ओलीले कोरोनासम्बन्धी अध्यादेश ल्याएर ठूलो चालबाजी गरेको संकेत गरेका छन् । उनले प्रश्न गर्दै भनेका छन्, ‘संसद पनि विघठन गर्ने, निर्वाचन पनि नगर्ने, कोरोनाको बेला कसरी निर्वाचन निष्पक्ष हुन्छ भनेर विश्वास गर्ने ?’

ओलीले विश्वासको मत नलिएर राष्ट्रपति भण्डारीलाई संविधानको धारा ७६ को उपधारा (५) बाट नयाँ प्रधानमन्त्रीका लागि आह्वान गरेपछि कांग्रेस नेता थकालीले संविधानमाथि ठूलो घात भएको बताएका हुन् ।

उनले बिहीबारको ओली र भण्डारीको कार्यले मुलुक ठूलो दुर्घटना र अस्थिरतातिर गएको भन्दै चिन्ता जनाएका छन् । उनले मुलुकलाई सहि बाटोमा ल्याउन लोकतान्त्रिक शक्तिहरू मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले ओलीलाई जसरी पनि फाल्नुपर्ने समय आएको समेत बताएका छन् । त्यसका लागि कसले कहाँ योगदान गर्नुपर्ने हो गर्न नेताहरूलाई थकालीले सुझाव दिएका छन् ।

Published : Thursday, 2021 May 20, 11:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया