गलत काम भयो, ओलीजीले राष्ट्रपतिलाई प्रयोग गर्नुभयोः कांग्रेस नेता बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री पद रिक्त नहुँदै अर्को प्रधानमन्त्री बनाउन आह्वान गर्ने गर्ने कार्य असंवैधानिक भएको टिप्पणी गरेका छन् ।

कांग्रेस खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतले बिहीबार राति प्रतिक्रिया दिँदै संविधानको उल्लंघन गरेर प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा असंवैधानिक कदम चालिएको आरोप लगाए । उनले असंवैधानिक कदमको आफूले सधैँ बिरोध गर्ने बताए ।

प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको कदमको कांग्रेसले विरोध गरिसकेको उनले बताए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिलाई प्रयोग गरेर असंवैधानिक काम गरेको बताए ।

नयाँ प्रधानमन्त्रीका लागि आह्वान गरिएको विषय संवैधानिक रुपबाट कुनै प्रक्रिया नमिल्ने नेता बस्नेतले बताएका छन् ।

उनले भने, ‘गलत काम भयो । विश्वासको मत लिन्छु भनेर प्रधानमन्त्री बन्ने । अहिले आएर राजीनामा पनि नदिने । संविधान विपरित यो ढंगले अगाडि बढ्न खोज्ने कार्य ठीक होइन ।’

Published : Thursday, 2021 May 20, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया