ओली–भण्डारी मिलेर गलत कार्य गर्नुभयो, दण्ड पाउनु हुन्छः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधानको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

खतिवडाले बिहीबार राति ट्वीट गर्दै प्रधानमन्त्रीले फेरि आफूलाई फाइदा हुने गरेर संविधानको दुरुपयोग गरेको बताएका हुन् ।

‘यो संविधानप्रति शुरु देखिनै केपी ओली असन्तुष्ट थिए’, उनले भने, ‘बेलाबेल मधेश र मधेशीलाई गाली गर्थे, कहिले कांग्रेस त, कहिले अन्य पार्टीलाई, उनलाई एउटै हतार थियो प्रधानमन्त्री बन्नु ।’

कांग्रेस नेता खतिवडाले भने, ‘उनी बाहिर जे भए पनि भित्री विदेशीका अरौटे रहेछन् । आज फेरि राष्ट्रपतिमार्फत संविधानको दुरुपयोग गर्दै छन् ।’

‘ओलीले संसदमा संघीयता भनेको बाख्राको टाउकोमा भैँसीको सिंग भनेर बोल । म संसदमा हुँदा ओलीको यो अभिव्यक्तिप्रति आपत्ति जनाएको थिएँ’, खतिवडाले भनेका छन्, ‘ओलीजी अहिले आफै प्रधानमन्त्री हुनुहुन्छ । अधिकार नै नभएको कुरा संसद विघठन गर्नु हुन्छ । संसद पुनःबहाली हुँदा पनि राजीनामा दिनु हुन्न ।’

उनले भने, ‘विश्वासको मत गुमाउनु हुन्छ, राष्ट्रपतिलाई दुरुपयोग गरेर २१ घण्टाको समय दिएर अर्को सरकार गठन गर्न पहल गर्छन् । यसको मतलव अरुलाई समय नदिने फेरि आफै प्रधानमन्त्री भएर आफैले हिजोको संसद विघठन ठीक हो भन्ने बाटोमा ओली जानुभएको छ ।’

‘यो संविधानमाथिको आक्रमण हो । हामीले ल्याएको व्यवस्थामाथिको आक्रमण हो । ओलीजी हामीले ल्याएको संविधान र संघीयतालाई फेरि खान खोज्नुभएको छ’, उनले भनेका छन् ।

‘राष्ट्रपतिले आफ्नो पदको गरिमालाई कायम गर्न सक्नुभएको छैन । एकदमै गलत कार्य गर्नुभएको छ’, खतिवडाले भने, ‘ओलीजीले राष्ट्रपतिलाई दुरुपयोग गर्नुभयो । राष्ट्रपति आफै पनि दुरुपयोग हुनुभयो ।’

उनले भनेका छन्, ‘राष्ट्रपतिले गरिमा राख्नुभएन । राष्ट्रपति ओलीको मात्रै राष्ट्रपति हुनुभयो ।’

ओलीले विश्वासको मत लिन नसकेपछि संविधानको धारा ७६ को उपधारा (५) अनुसार राष्ट्रपति भण्डारीले २१ घण्टाको समय दिएर प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि कांग्रेस नेता खतिवडाले संविधान विपरितको कार्य भएको भन्दै विरोध गरेका छन् ।

खतिवडाले संविधानको धारा ७६ को उपधारा (५) मा जानुभन्दा पहिला ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । उनले ओली र भण्डारीको कार्यको कांग्रेसले विरोध गर्ने बताएका छन् ।

कांग्रेस नेता खतिवडाले संविधानको दुरुपयोग गर्ने ओली र भण्डारीलाई जनताले कारबाही गर्नेभन्दै एकदिन दण्ड पाउने चेतावनी दिएका छन् ।

Published : Thursday, 2021 May 20, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया