ओलीले अचानक यी दुई भीआईपीलाई बालुवाटार बोलाए

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ठाकुर–महतोले बिहीबार ओलीसँग भेट गरेर सरकारका विषयमा छलफल गरेको उच्च स्रोतले जनाएको छ । ओलीले नै भेटवार्ताका लागि ठाकुर–महतोलाई फोन गरेर बोलाएका थिए ।

भेटवार्तामा ओलीले आफ्नो सरकारलाई समथर्न गर्न आग्रह गरेको स्रोतको दाबी छ । ‘प्रधानमन्त्रीज्यूले संसदको बैठक बोलाउनुभएको छ’, स्रोतले दाबी गर्दै भन्यो, ‘विश्वासको मत दिनका लागि र आगामी राजनीतिक यात्रामा साथ दिन ठाकुर–महतोसँग आग्रह गर्नुभएको छ ।’

मन्त्रिपरिषदको बैठक सकिने वित्तिकै ठाकुर–महतोलाई ओलीले बालुवाटारमा बोलाएका थिए । ओलीले मन्त्रिपरिषद बैठकबाट जेठ ९ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेका छन् ।

तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका ओलीसँग बहुमत छैन । उनलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

ओलीलाई आफ्नै पार्टीभित्रैबाट वरिष्ठ नेता माधव नेपाल समूहले पनि साथ दिएको छैन ।

ओलीलाई सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बध्यता पनि छ । यस्तो अवस्थामा ओलीलाई जसपाको समर्थन र साथ आवश्यक पर्छ ।

जसपाभित्र पनि अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको पक्षमा छैनन् । फुटेको जसपाले साथ दिएर मात्रै पनि ओली ढुक्क हुने अवस्थामा छैनन् ।

Published : Thursday, 2021 May 20, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया