आफ्नै ‘भजन’ सुनेर ओली मख्ख, आफैले गरे थापा हार्ने संकेत

काठमाडौं । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले बाग्मती प्रदेशमा राष्ट्रिय सभाको उप–निर्वाचनमा आफ्ना उम्मेदवारलाई हराउन भएको षड्यन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् ।

बालुवाटारमा बिहीबार बसेको एमालेको स्थायी कमिटीको आकस्मिक बैठकमा ओलीले उप–निर्वाचनमा एमालेकै उम्मेदवार रामबहादुर थापालाई हराउन भएको वरिष्ठ नेता माधव नेपाल समूहको विरोध गरेका हुन् ।

‘बैठकले बिहीबार बाग्मती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उप–निर्वाचनमा देखापरेका पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भर्त्सना गरेको छ’, बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकमा ओलीले नेपाल समूहको असहयोगका कारण बाग्मती प्रदेशको राष्ट्रिय सभाको उप–निर्वाचनमा रामबहादुर थापा पराजित हुने हो कि भनेर आशंका समेत जनाएको एक नेताले बताएका छन् ।

नेपाल समूहले थापालाई हराउन ज्यान फालेर लागेको ओली समूहको आरोप छ । पार्टीभित्रकै आन्तरिक कारणले थापा हार्ने हो कि भनेर ओलीले बैठकमा चिन्ता जनाएको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोभिड महामारीको बढ्दो प्रकोप र यसका विरुद्ध सरकारले गरिरहेका प्रयासहरुका सम्बन्धमा बैठकलाई जानकारी गराएको प्रवक्ता ज्ञवालीले बताएका छन् ।

‘एमालेले सरकारका प्रयासहरू सकारात्मक रहेको निष्कर्षका साथ कोभिड महामारीका विरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीहरूको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाका संक्रमित बिरामीले अक्सिजन, बेड, आईसीयु, एम्बुलेन्स नपाएर ज्यान गुमाइरहेका बेला एमालेले ओलीले राम्रो काम गरेको भनेर प्रशंसा गरेको छ ।

बैठकमा ओलीको समर्थनमा सदस्यहरूले प्रशंसा गरेर अभिव्यक्ति दिएको एक सदस्यले बताएका छन् । उनले भने, ‘बैठकमा प्रधानमन्त्रीज्यूको भजन गाउने काम भएको छ । जनता कोरोनाका बेला अक्सिजन नपाएर मरिरहेका छन् । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीले राम्रो काम गरेको भनेर ओलीजीको प्रशंसा गरिएको छ । भजन गाइएको छ ।’

एमालेले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद कमरेड योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ ।

यादवको निधनबाट तराई–मधेसले एकजना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्षका साथ एमालेले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

Published : Thursday, 2021 May 20, 4:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया