मेलबर्नमा गायक स्व.प्रेमध्वज प्रधानलाई श्रद्धाञ्जलि

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा गायक स्व.प्रेमध्वज प्रधानको १३औं दिनको पूण्यतिथिका अवसरमा श्रद्धाञ्जलि सभा कार्यक्रम गरेर स्मरण गरिएको छ ।

कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठको विशेष पहलकदमीमा साहित्य संगीत जमघटको आयोजना गरिएको हो ।

कार्यक्रममा स्व.प्रधानका कालजयी गीतहरू एकल र समूहमा मेलबर्न निवासी गायकहरू विवेक श्रेष्ठ, राजेश केसी, रञ्जन बैद्य, दिकपालदेव पंगेनी, स्वरुपा आशाहरूले प्रस्तुत गरेका थिए ।

निरु त्रिपाठीद्वारा सञ्चालित सो कार्यक्रमको शुरुमा विवेक श्रेष्ठले प्रेमध्वज प्रधानको विषयमा अत्यन्तै खोजपूर्ण जानकारीमूलक लामो प्रस्तुति दिए थिए ।

बासुदेव मरहठ्ठाले पनि स्व. प्रधानको विषयमा जानकारीमूलक प्रस्तुति दिए ।

केही वर्ष नियमित रुपमा सकृय रहेको साहित्य संगीत जमघट छ । कार्यक्रम आयोजनाको लागि आयोजक खोज्ने क्रममा विवेक श्रेष्ठको घच्घच्याइका कारण पुनः यसले आफ्नो निरन्तरता दिन सक्ने संभावनाप्रति अनुपम पाठकले संकेत गरेका छन् ।

नेपाल सरकारले सम्मान गर्नै पर्ने राष्ट्रिय महत्वका ब्यक्तिहरूलाई स्वतः स्फूर्त रुपमा सम्मान गर्ने परिपाटी नरहेको, तर त्यसका लागि नेपाल सरकारलाई नियमित रुपमा घच्घच्याइराख्नु पर्ने आवश्यकतामा उनले जोड दिए ।

जीवित अवस्थामा नै वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी जस्ता ब्यक्तिको नाममा नै मुद्रा प्रचलनमा ल्याउनु सकारात्मक रहेको बताइएको छ ।

पहिला राजा महाराजाको नाममा मात्रै हुलाक टिकट प्रकाशनमा ल्याउने प्रचलन भएकोमा हाल सत्यमोहन जोशी जस्तो महान ब्यक्तिको नाममा समेत हुलाक टिकट प्रकाशनमा ल्याउनुमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको निरन्तर अथक प्रयास रहेको जानकारी दिइएको थियो ।

लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एवम् अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विश्व सल्लाहकार रामकुमार श्रेष्ठले स्व.प्रेमध्वज प्रधान जस्ता ब्यक्तिलाई सरकारले सम्मान नगरेकोमा असन्तुष्टि जनाए ।

Published : Thursday, 2021 May 20, 10:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया