नेपाल समूहले ओली समूहलाई देखायो ‘तोरिको फूल’, फेल खायो बालुवाटारको योजना

काठमाडौं । सत्तारुढ एमालेभित्रको आन्तरिक विवाद समाधानका लागि सुझाव दिन गठन भएको कार्यदलको बैठक आचानक स्थगित भएको छ ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पेलेर जाने संकेत गरेपछि तर्सिएका माधव नेपाल समूहले कार्यदलप्रति धेरै रुचि देखाएका छैनन् । ओली समूहका कार्यदलका दुई जना सदस्य विष्णु पौडेल र शंकर पोखरेल अघिल्लो बैठकमा अनुपस्थित थिए ।

ओली समूहले कार्यदललाई धेरै गम्भीरतापूर्वक नलिएको नेपाल समूहको बुझाइ छ । सोही कारण कार्यदलको बैठक बुधबार बस्ने कार्यक्रम थियो । बैठक बस्न नसकेपछि अर्को बैठक बिहीबार पाँच बजे बस्ने भनिएको छ ।

कार्यदलको बैठकमा नेपाल समूहलाई रामबहादुर थापालाई जिताउन मतदान गर्न दवाव दिने रणनीति ओली समूहले बनाएको एक नेताले बताएका छन् ।

बैठकमा राष्ट्रियसभा उप–निर्वाचन कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची थियो । ओली समूहको दवा छल्न नेपाल समूहले आन्तरिक परामर्शको बहाना बनाएर कार्यदलको बुधबारको बैठक रोकिदिएका छन् । नेपाल समूहको रणनीति चाल पाएका ओली समूह जिल परेका छन् ।

वरिष्ठ नेता माधव नेपालले ओलीका उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न नसकिने जनाइसकेका छन् । नेपालको जवाफले ओली र थापा तनावमा छन् ।

कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

वरिष्ठ नेता नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त कार्यदलमा सदस्य छन् ।

ओली समूहले नेपाल समूहलाई उप–निर्वाचनमा थापालाई मतदान गर्नुपर्ने भनेर विज्ञप्ति जारी गर्न दवाव दिइरहेका बेला कार्यदलको बैठक भताभुङ्ग भएको छ । ओलीले कार्यदललाई रणनीतिक रुपमा लिएर नेपाल समूहलाई प्रयोग गरिरहेको आरोप छ ।

Published : Wednesday, 2021 May 19, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया