नेपालमा कोरोनाका तीन भेरियन्टको पुष्टि, झन् जोखिम बढ्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गरेर नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको बताए ।

देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको डा.अधिकारीले बताएका छन् ।

परिवर्तित भाइरससहित हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको प्रवक्ता डा.अधिकारीले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ ।

हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2021 May 18, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया