दाङमा कम्युनिस्टलाई धुलो चटाएका कांग्रेसका लोकप्रिय नेता चौधरी रहेनन्

घोराही । दाङ जिल्लाको दंगीशरण गाउँपालिका– ३ का वडाध्यक्ष एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर चौधरीको निधन भएको छ ।

चौधरीको सोमबार ६३ वर्षको उमेरमा निधन भएको परिवारजनले जनाएका छन् । कोरोनाभाइरसको संक्रमणबाट वडाध्यक्ष चौधरीको सोमबार निधन भएको हो ।

कांग्रेस नेता चौधरीले कम्युनिस्टका उम्मेदवारलाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको बाँकेस्थित नेपलगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोलक पर्सन तेज वलीका अनुसार वडाध्यक्ष चौधरीलाई वैशाख २५ गते पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वैशाख २७ गते वडाध्यक्ष चौधरीलाई उपचारका लागि भर्ना गरिएको थियो ।

वडाध्यक्ष चौधरी नेपाल मटवा महासंघको केन्द्रीय सदस्य थिए । उनको थारु जातिको कला संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका थियो ।

चौधरी ब्याकवार्ड सोसाईटी एजकेसन (बेश)का केन्द्रीय सदस्य समेत हुन् । थारु संस्कृतिका लागि उनको ठूलो योगदान छ ।

नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले वडाध्यक्ष चौधरीको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएका छन् ।

Published : Tuesday, 2021 May 18, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया