निजी अस्पतालमा कोरोना उपचार महँगो भयो, खोपमा दवाव सिर्जना गरौँः गोविन्द भट्टराई

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले कोरोनाभाइरसबाट जनताको रक्षा गर्न खोप लगाउने कुरामा जोड दिएका छन् ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिले सोमबार गण्डकी प्रदेशका जनप्रतिनिधि र केन्द्रीय सदस्य, जिल्ला सभापतिहरूसँगको जुम मिटिङलाई सम्बोधन गर्दै भट्टराईले सरकारले कमिशनका कारण खोप आउन नसकेको बताए ।

पहिलो चरणको संक्रमण आउनेवित्तिकै कांग्रेस जिम्मेवार बनेर सरकारलाई कोरोना रोकथाम र उपचारका लागि ५० लाख दिएको बताएको भट्टराईले बताएका छन् ।

‘एकद्वारबाट काम होस् भनेर कांग्रेसले आफ्नै खाताबाट ५० लाख दियो’, उनले भने, ‘भ्याक्सिन लिन कुटनीतिक पहल गर्नुपर्छ । भ्याक्सिन लगाउन दवाव दिनुपर्छ ।’

उनले भने, ‘समयमा पीसीआर रिपोर्ट आएको छैन भनेर गुनासा आएका छन् । १५ मिटनमा रिपोर्ट आउने मेसिन आएको छ ।’

‘निजी अस्पतालमा उपचार खर्चमा मोनिटरिङ गर्नुपर्छ । उपचार खर्च महँगो भयो । सरकारलाई दवाव दिनुपर्छ’, कांग्रेस नेता भट्टराईले भनेका छन् ।

नेता भट्टराईले काठमाडौं उपत्यकामै जनचेतनाको अभाव रहेको हो कि भन्ने प्रश्न उठेको बताएका छन् ।

‘मास्क नलगाएर काठमाडौंमा सामान किन्न आएका छन् । काठमाडौंमै सरसफाइरमा ध्यान दिइएको छैन’, उनल भनेका छन् ।

नेता भट्टराईले कोरोना महामारीका बेला समस्यामा परेकालाई खाने व्यवस्था गर्न सरकारलाई दवाव दिनुपर्ने बताए ।

‘खान नपाएकालाई खान दिने काम राज्यको हो । सरकारले काम गर्न सकेन’, उनले भने, ‘विदेशमा रहेका नेपालीहरूलाई पनि सहयोगका लागि अनुरोध गरौँला ।’

‘राज्य पूर्ण रुपमा असफल भएको छ । भ्याक्सिनमा कमिशन, सिटामोल बनाउन पनि बन्द हुने अवस्था हुँदैछ । भयाबह स्थिति छ’, उनले भने, ‘पार्टीसँग समन्वय गरेर स्थानीय तहमा भएका काम प्रशंसनीय छ ।’

Published : Monday, 2021 May 17, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया