नुवाकोट कांग्रेसको कामले ओली सरकारको टाउको दुख्यो, कोरोनाका बिरामी र स्वास्थ्यकर्मीहरू खुसी

काठमाडौं । कोरोना महामारीका बेला खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले बिरामीहरूको उपचार गर्न नसकेको भनेर आलोचना भइरहेको बेला नेपाली कांग्रेस नुवाकोटले कोरोनाका बिरामी, स्वास्थ्यकर्मी र चिकित्सकहरूलाई निःशुल्क खाना खुवाउन शुरु गरेको छ ।

नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले शिक्षण अस्पताल महारागञ्ज, काठमाडौं र नुवाकोट त्रिशूली अस्पतालमा रहेका कोरोना बिरामीहरूलाई शनिबारदेखि निःशुल्क खाना खुवाउन थालेको जानकारी दिए ।

यी दुई अस्पतालमा उपचारका लागि भर्ना भएका सबै कोरोनाका बिरामीलाई उपचारका क्रममा सहयोग होस् भनेर खान खुवाउन लागेको केसीले बताए ।

यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्ट, नेपाली कांग्रेस नुवाकोटको समन्वयमा कोरोनाका बिरामीहरूलाई खानाको व्यवस्थापन गरिएको छ ।

‘नुवाकोटको त्रिशूली अस्पतालमा कोरोनाका बिरामीको चाप बढ्दै जाँदा खाना व्यवस्थापनमा परेको समस्यालाई दृष्टिगत गरी नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको पहल र समन्वयमा ओम् आदि फाउन्डेसनको तर्फबाट जेठ २ गते बिहानदेखि त्रिशूली अस्पताल भर्ना भई उपचारमा रहेका सबै कोरोनाका बिरामी, कोरोना बिरामीको परीक्षण र उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीका लागि नियमित रूपमा अस्पतालमै खानाको व्यवस्था गरिएको छ’, सभापति केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख ।

तोकिएको मापदण्ड र पौष्टिक तत्वयुक्त खाना अस्पताल व्यवस्थापनमार्फत अस्पतालभित्रै रहेको क्यान्टिनमा तयार गरी खुवाइनेछ । खानावापतको खर्च साप्ताहिक रूपमा भुक्तानी गरिने सभापति केसीले बताएका छन् ।

नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको पहलमा ओम् आदि फाउन्डेसनले चार दिनदेखि काठमाडौंस्थित शिक्षण अस्पतालमा रहेका कोरोना बिरामीलाई खानाको व्यवस्था गरेको छ ।

‘विपदको समयमा जहाँबाट जे सकिन्छ त्यही योगदान गर्ने हाम्रो अभियानमा सहकार्य गर्ने ओम् आदि फाउन्डेशन र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टलाई धन्यवाद’, केसीले भनेका छन् ।

कोरोना महामारीको घडीमा सहयोगका लागि सबैमा नेपाली कांग्रेस नुवाकोटले अपील पनि गरेको छ ।

नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन यसअघि नै दिने निर्णय भएको थियो ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली सत्ता बचाउन विभिन्न खेलखण्ड गरिरहेका बेला नुवाकोट कांग्रेसले कोरोनाका बिरामी र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निःशुल्क खाना खुवाउन जुटेको छ ।

नुवाकोट कांग्रेसको यो कार्यले ओली सरकारलाई दवाव पर्न सक्नेछ । निषेधाज्ञामा जनतालाई राखेर कुनै पनि राहतको कार्यक्रम ल्याउन नसकेको ओली सरकारलाई तनाब हुनेछ ।

Published : Sunday, 2021 May 16, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया