चार वटा सिलिण्डर र एक पोका मास्क होइन, दाङलाई पुग्ने स्वास्थ्य सामग्री दिन कांग्रेसको दवाव

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटा र प्रतिनिधि सभाकी सांसद विमला नेपालीले दाङ जिल्लामा कोरोनाभाइरसको संक्रमणले चरम समस्या बनाएको भन्दै अक्सिजनसहितका स्वास्थ्य सामग्रीहरू पठाउन सरकारसँग अनुरोध गरेका छन् ।

मन्त्रालयमा आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई भेटेर प्रमुख सचेतक देवकोटा र सांसद नेपालीले दाङ जिल्लामा कोरोनाबाट संक्रमितहरूले अक्सिजन अभावमा ज्यान गुमाउनु परेको बताए ।

अबका दिनमा अक्सिजन र स्वास्थ्य सामग्रीहरूको अभावमा दाङका जनताले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भयो भने कांग्रेसका सांसदहरू स्वास्थ्य मन्त्रालयमा आएर धर्नामा बस्ने चेतावनी समेत दिएका छन् । उनीहरूले मन्त्री त्रिपाठीलाई कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई के सहयोग चाहिएको हो त्यो दिन तयार रहेको प्रतिवद्धता पनि जनाएका छन् ।

कांग्रेस सांसदद्वय देवकोटा र नेपालीको कुरा सुनेर मन्त्री त्रिपाठीले संस्थागत रुपमा आएर औषधिसहित स्वास्थ्य सामग्री माग्नेहरूमा तपाईहरू हो भनेर खुसी व्यक्त गरेका थिए ।

देवकोटाले भनिन्, ‘स्वास्थ्य मन्त्रीसँग भेटेर दाङमा अक्सिजनसहितका स्वास्थ्य सामग्री तत्काल पठाउन अनुरोध गरेका छौँ । उहाँले पनि छिटोभन्दा छिटो स्वास्थ्य सामग्री र औषधिहरू पठाउने आश्वासन दिनुभएको छ ।’

कांग्रेस सांसद देवकोटा र नेपालीले दाङ जिल्लामा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान, कोरोना विशेष अस्पताल बेलझुण्डीलगायत दाङ जिल्लाभित्र रहेका सबै अस्पताल, स्वास्थ्य केन्द्र र स्वाथ्य चौकीहरूमा स्वास्थ्य सामग्रीहरूको माग गरेका छन् ।

दाङका अस्पतालहरूमा अक्सिजनको अभाव भएका कारण उपचारमा समस्या भएको उनीहरूले स्वास्थ्यमन्त्री त्रिपाठीलाई अनुरोध गरेका छन् ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा निर्माण सम्पन्न भई उद्घाटन भइसकेको आईसीयू सञ्चालनमा आउन नसकेकाले जटिल अवस्थामा रहेका कोभिड–१९ संक्रमित बिरामीहरूको उपचारमा कठिनाइ भएको जानकारी पनि सांसदद्वय देवकोटा र नेपालीले मन्त्री त्रिपाठीर्लाइ गराएका छन् ।

‘दाङ जिल्ला अक्सिजन र अन्य स्वास्थ सामग्री उपलब्ध गराउने व्यवस्था मिलाईदिनुहुन र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानको आईसीयू पूर्ण क्षमतामा सञ्चालन गर्ने व्यवस्था मिलाईदिनुहुन अनुरोध गरेका छौँ’, प्रमुख सचेतक देवकोटाले बताएकी छिन् ।

मन्त्री त्रिपाठीलाई भेटेपछि कांग्रेसका सांसदद्वय देवकोटा र नेपालीले स्वास्थ्य विभागका महानिर्देशकलाई पनि भेटेर दाङमा स्वास्थ्य सामग्री पठाइदिन अनुरोध गरेका थिए ।

दाङकै सत्तारुढ एमालेका सांसदहरूले व्यक्तिगत रुपमा २–४ वटा अक्सिजन सिलिण्डरहरू बोकेर हिँडेको भनेर समाचारहरू भाइरल भएका बेला कांग्रेसका सांसदद्वय देवकोटा र नेपालीले दाङमा संस्थागत रुपमा स्वास्थ्य सामग्रीहरू पठाउन स्वास्थ्य मन्त्रीलाई दवाव दिएका छन् । विभागबाट २–४ वटा सिलिण्डर र केही सय मास्क, सेनिटाइजर दिने प्रस्ताव गरिएको थियो ।

सांसदद्वय देवकोटा र नेपालीले दाङमा व्यक्तिगत रुपमा स्वास्थ्य सामग्री लगेर वितरण गर्नेभन्दा पनि सरकारकै तर्फबाट संस्थागत रुपमा छिटोभन्दा छिटो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोरोना अस्पतालसँग समन्वय गरेर आवश्यक स्वास्थ्य सामग्रीहरू पठाउन दवाद दिएका छन् ।

Published : Sunday, 2021 May 16, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया