महेश मन्त्री बन्ने, जसपालाई ८ मन्त्रालय, फागुन २८ को निर्णय खारेज नहुने, माधवले ठूलो पद नपाउने

काठमाडौं । एमालेका नेता महेश बस्नेतले फागुन २८ गतेको निर्णय खारेज नहुने बताएका छन् ।

उनले भने, ‘एमालेमा आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्टलगायतका माओवादी नेताहरूलाई फेरि पठाउँदैन ।’ बस्नेतले आगामी निर्वाचनसम्म देशभरिका माओवादीका कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने दाबी गरेका छन् ।

आगामी निर्वाचनमा एमाले शक्तिशाली र बहुमतका साथ प्रस्तुत हुने उनले बताए ।

उनले ०७५ जेठ २ मा पार्टी फर्किन्छ भन्ने कुरा आफूले नठान्ने बताए । नेताहरूलाई उचित जिम्मेवारी र व्यवस्थापन गर्ने बस्नेतले बताए ।

प्रधानमन्त्री खड्गप्रसाद ओली निकट मानिने बस्नेतले माधव नेपाललाई वरिष्ठ नेताको पद दिन कुनै समस्या नहुने बताए । उनले भने, ‘त्यही पदहरू ब्यूझिएर कायम हुन्छ भन्न म सक्दैन । उहाँहरूलाई पार्टीले महत्वपूर्ण जिम्मा र महत्वपूर्ण पदीय हैसियत दिएर सम्बोधन गर्छ ।’

बस्नेतले ओली र नेपालबीच भएको एकता कृतिम नरहेको बताए । ‘माधव नेपाल र उहाँसँग हिडेका नेताहरूले हामी बेठिक बाटोमा हिँडेका रहेछौँ भन्ने कुरा धेरै साथीहरूले अनुभूति गर्नुभएको छ’, बस्नेतले भने, ‘उहाँहरू सामूहिक राजीनामा र सामूहिक आत्महत्या गर्छौं भन्ने तहसम्म पुग्दा, उहाँहरूले ३८ जना सांसद छौँ भनेर दाबी गरिरहँदा माधव नेपालसँग जम्मा ७ वा ९ जना सांसदभन्दा राजीनामा नगर्ने तहमा स्थिति पुग्थ्यो ।’

माधव नेपालले नयाँ पार्टी गठनको तयारी गरेको सूचना आफूहरूले थाहा पाएको नेता बस्नेतले बताए । ‘नयाँ पार्टी गठनको बाटोमा गएको भए माधव नेपालको राजनीति समाप्तिको बाटो हुने थियो’, उनले भने, ‘त्यो बाटोबाट उहाँहरू ठीक बाटोमा आउनु भएको छ ।’

नेता बस्नेतले भने, ‘माधव नेपाल र उहाँसँग जोडिएका साथीहरूले फेरि गुट गरेर फेरि डिल गर्ने कुरा अन्त्य हुन्छ । विगतको गल्ती स्वीकार गरेर जाने हो भने सबैले यो पार्टीमा उचित स्थान पाउनु हुन्छ ।’

नेता बस्नेतले मन्त्रिमण्डल पुनःगठन हुने बताएका छन् । अब हुने मन्त्रिमण्डलमा आफू मन्त्री बन्ने बस्नेतले घोषणा गरेका छन् ।

‘जसपाभित्रका नेताहरू र एमालेभित्रका नेताहरू जसले क्षमता बोकेका र जिम्मेवारी नपाएका साथीहरूलाई पारेर आगामी दिनमा मन्त्रिमण्डल पुनः गठन हुन सक्छ’, बस्नेतले भने, ‘विश्वासको मत लिएर नीति तथा कार्यक्रम र बजेट पारित भएपछि एमाले र जसपाका नेताहरूलाई राखेर मन्त्रिमण्डल पुनः गठन हुन्छ ।’

जसपालाई मन्त्रिमण्डलमा ८ मन्त्रालय पाउन सक्ने उनले बताए । राजेन्द्र महतोलाई उप–प्रधानमन्त्रीसहितको मन्त्री पनि बनाउने बस्नेतले बताएका छन् ।

विश्वासको मत लिने बेला २८ जना सांसदलाई अनुपस्थित गराएका कराण माधव नेपालमाथि ठूलो प्रश्न उठेको बस्नेतले बताएका छन् । माधव नेपालले अनुशासन तोडेर आफ्नो पार्टीको सरकार ढालेर, विपक्षीसँग गठबन्धन बनाएर, एमालेलाई धरासायी बनाउने नेताको छविन बनाएको आरोप नेता बस्नेतले लगाएका छन् ।

पार्टी विभाजन भएर मालेमा हुँदा धनश्याम भुसालले १२ सय भोट लिएको बताएका नेता बस्नेतले भने ताप्लेजुङमा योगेश भट्टराईको भूमिकाबाट असन्तुष्ट रहेको बताए ।

नेता बस्नेतले माधव नेपाल अहिलेको परिस्थितिमा प्रधानमन्त्री बन्ने सम्भावना नदेखेको बताएका छन् । उनले पाँच वर्षसम्मका लागि केपी ओलीलाई प्रधानमन्त्री भनेर उठाएको बताएका छन् ।

‘यो कार्यकालमा माधव नेपाल प्रधानमन्त्री बन्ने सपना म देख्दिन । उहाँले पनि नदेखे हुन्छ’, ओली निकट मानिने नेता बस्नेतले भने, ‘माधव नेपालले प्रचण्डसँग साँठगाँठ गरेर प्रधानमन्त्रीबाट हटाउन अविश्वासको प्रस्ताव ल्याउनेसम्म गर्नुभएको छ । ओलीलाई पदच्युट गर्नेसम्मका षड्यन्त्र नगरेको भए माधव नेपाल र प्रचण्ड यो पार्टीको प्रधानमन्त्र र अध्यक्ष बन्ने सम्भावना थियो । त्यो कोर्ष सक्किएको छ । यो संसदीय कार्यकालमा माधव नेपाल प्रधानमत्री बन्ने सम्भावना देख्दिन ।’

अर्को निर्वाचनपछि पनि ओलीनै प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने बताए । माधव नेपाल भावी प्रधानमन्त्री बन्न सक्ने सम्भावनको भविष्यवाणी गर्न नसक्ने बताए ।

‘आउँदो निर्वाचनमा प्रचण्ड आराम गरेर बस्नेत होला । राजनीति गर्नु होला भन्ने लाग्दैन’, बस्नेतले भने, ‘प्रचण्ड आफै कुन क्षेत्रमा उठ्ने हो म जान्दैन । माधव नेपालले पछिल्लो समयमा नसुधारेको भए सेकेण्ड प्रचण्ड हुनुहुन्थ्यो ।’

Published : Saturday, 2021 May 15, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया