कांग्रेसद्वारा मुस्लिम समुदायलाई शुभकामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीहरूको पवित्र पर्व ‘ईद उल फित्र’का अवसरमा शुभकामना दिएका छन् ।

शुक्रबार शुभकामना सन्देश जारी गरेर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीवहिनी तथा दाजुभाईहरूमा सुःख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना (इद मुवारक) प्रकट गरेका हुन् ।

‘इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक संहिष्णुता र सद्भावना बढाउँदै आएको छ’, देउवाले भनेका छन् ।

‘यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु’, सभापति देउवाले भनेका छन् ।

‘लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरूमा इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ’, कांग्रेसले भनेको छ ।

‘लोकतन्त्रको रक्षार्थ मुस्लीम दिदीवहिनी तथा दाजुभाईहरू अझ बढि जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु’, देउवाले भनेका छन् ।

‘देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा छ’, देउवाले भने, ‘सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ ।’

‘यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी छ’, उनले भने, ‘कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउनु हुन म सबैलाई आग्रह गर्दछु ।’

‘इद उल फित्रले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरूमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Friday, 2021 May 14, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया