ओली सत्ताका लागि धेरै लडीबुडी गरेपछि गगनले दिए यस्तो सुझाव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले एमालेका अध्यक्ष खड्गप्रसाद ओली पुनः प्रधानमन्त्री नियुक्ति भएसँगै संसदमा सांसदको टाउको गन्ने काम रोकिनुपर्ने बताएका छन् ।

बिहीबार राति युवा नेता थापाले ट्वीट गर्दै कोरोनाबाट समस्यामा परेका जनताको जीवन बचाउन अनुरोध गरेका हुन् । उनले ओलीलाई सत्तामा भन्दा पनि जनताको उपचारमा ध्यान दिन सुझाव दिएका छन् ।

‘प्रधानमन्त्रीमा केपी ओलीको पुनः नियुक्तिसँगै अब केही समयलाई सांसदको संख्या गन्ने काम रोकिएला नै’, कांग्रेस नेता थापाले भनेका छन् ।
‘प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू अब त संक्रमित र जीवन गुमाउनेको संख्या घटाउन ध्यान दिऔं’, थापाले भनेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूहले ओलीलाई साथ दिएपछि पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

ओलीले शुक्रबार २ बजे सपथ लिँदै छन् । ओलीले सपथ लिँदै गर्दा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहलाई पनि समावेश गरेर मन्त्रिपरिषद विस्तारको तयारी गरेको बताइएको छ ।

Published : Friday, 2021 May 14, 7:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया