कांग्रेसले क्रियाशील सदस्यहरूको नाम वेबसाइटमा राख्यो, आफ्नो हेर्न मिल्ने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको नामावली आफ्नो वेबसाइटमा राखेको छ ।

कांग्रेसद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार वेबसाइटमा राखिएको क्रियाशील सदस्यतामा दाबी विरोध पेश गर्न आग्रह गरिएको छ ।

‘१४औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसारको प्रकृयानुसार विवाद रहित तरिकाले क्रियाशील सदस्यता सम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘क्रियाशील सदस्यताको लागि प्रस्ताव गरिएका देहायका ४५ जिल्लाका ८० स्थानमध्ये केहीको नवीकरण र नयाँ दुवै तथा केही स्थानको नवीकरण मात्रको प्रस्तावित नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैशाख ६, २०७८ को बैठकको निर्णयानुसार पार्टीको आधिकारिक वेवसाइटमा सार्वजनिक गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी वा गुनासा भएमा यस समितिको नाममा पार्टीको इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले २०७८ जेठ ७ गतेभित्र लिखित उजुरी गुनासो पठाउन सक्नेछन्’, कांग्रेसले भनेको छ ।

कांग्रेसले टेलिफोन नम्बर ९८५१०४४०६५ डा. प्रदिप पराजुली, ९८५११२९०७८ केशव रिजाल र ९८५११२४१९८ रामचन्द्र घिमिरेलाई उजुरीबारे जानकारी गराउन सक्ने जनाएको छ ।

‘सार्वजनिक गरिएका प्रस्तावित नामावली उपर परेका उजुरी र गुनासाका सम्बन्धमा, क्रियाशील सदस्यता छानविन समितिले गरेको निर्णय अनुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ’, कांग्रेसले भनेको छ ।

‘कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिनेछ’, कांग्रेसले भनेको छ ।

Published : Thursday, 2021 May 13, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया