अध्यक्ष मल्लद्वारा जलजलाको कोषमा एक लाख सहयोग, महामारीमा सक्रिय भए कांग्रेसका दानवीर नेता

लामाखेत । कोरोनाभाइरसको संक्रमण दर बढ्न थालेपछि पर्वत जिल्लाको जलजला गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले कोरोना महामारीमा जनताको जीवन रक्षाका लागि कोष पुनः सञ्चालनमा ल्याएको जानकारी दिए । कोषबाट जनताको स्वास्थ्य उपचारलगायतका सहयोग गरिने उनले बताए ।

दुई वर्ष अगाडि स्थापना भएको प्रकोप व्यवस्थापन कोष कोरोना महामारीका बेला पुनः सञ्चालनमा ल्याइएको छ ।

जलजला गाउँपालिकाको मुख्यालय लामाखेतमा बिहीवार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषमा विभिन्न शीर्षकबाट रकमान्तर गरी ९२ लाख रुपियाँ बिनियोजन गरि संकलन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्नुन शर्माले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस पवर्तनका कोषाध्यक्ष समेत रहेका अध्यक्ष मल्लले कोषमा एक लाख नगद सहयोग गरेका छन् । उनले ५ थान अक्सिजन सिलिण्डर पनि कोषलाई सहयोग गरेका छन् ।

मल्लले कोरोना महामारीको दोस्रो लहर तीब्र रुपमा बढेसँगै नागरिकमा त्रास, आशंका र अन्यौल बढेका बेलामा व्यवसायिक प्रयोजनका लागि राखिएको अक्सिजन सिलिण्डर र एक लाख रुपियाँ गाउँपालिकालाई सहयोग गरेको बताएका छन् ।

अध्यक्ष मल्लले गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि आफूले प्रयोग गर्दै आएको गाडी बिरामीहरूलाई अस्पतालसम्म पुर्‍याउन निःशुल्क उपब्ध गराएका छन् ।

उनले कोरोनाभाइरसको संक्रमणसँग खेलवाड नगरेर स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई अनुरोध गरेका छन् । ‘कोरोनाले सानो ठूलो भनेर चिन्दैन’, अध्यक्ष मल्लले भने, ‘आउनुस् हामी सबै मिलेर कोरोना संक्रमण नियन्त्रणमा सहभागी बनौँ ।’

अध्यक्ष मल्लले सकारात्मक सोँच र सहयोगबाट कोरोना महामारीबाट जनतालाई बचाउन सकिने बताएका छन् ।

अध्यक्ष मल्लले एक वर्ष अगाडि पहिलो चरणको कोरोनाभाइरस रोकथामका बेला व्यक्तिगत रुपमा समस्यामा परेका सर्वसाधारणलाई खाद्यान्नसहितका सहयोग गरेका थिए ।

पर्वत जिल्लामा मात्र नभइ कांग्रेसका युवा नेता मल्लले अन्य जिल्लाहरूमा पनि सहयोग गरेका थिए ।

मल्लले यस पटक पनि कोरोनाबाट समस्यामा परेका सर्वसाधारणलाई जलजला गाउँपालिका र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्नेमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

‘जलजलाका जनताको जीवन सबैभन्दा ठूलो हो’, मल्लले भने, ‘महामारकिा बेला रोग र भोकबाट जनतालाई बचाउन सकिएन भने हामी नेतृत्वमा बस्नुको के अर्थ ? म सहयोगका लागि २४सै घण्टा तयारी अवस्थामा छु ।’

Published : Thursday, 2021 May 13, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया