कोरोना उपचारमा सरकारको लापरबाही, राहतको कार्यक्रम ल्याउन तरुण उपाध्यक्षको अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले कोरोना महामारीका बेला सरकारले लापरबाही गरिरहेको बताएका छन् ।

चापागाइँले कोरोनाभाइरसको संक्रमणबाट बिरामी भएकाहरूको सहज रुपमा उपचार हुन नसकेको बताए । उनले अक्सिजनको अभावमा जनताले ज्यान दिन बाध्य हुनु परेको बताए ।

‘सरकारले जनताको जीवन रक्षा गर्न सकेन । प्रधानमन्त्री केपी ओली कुर्सी बचाउने खेलमा लाग्नुभयो । उहाँलाई जनताको कुैन प्रवाह छैन’, उनले भनेका छन् ।

अक्सिजन नपाएर जनताको मृत्यु हुनुपर्ने घटनाहरू निकै पीडादायी भएको उपाध्यक्ष चापागाइँले बताएका छन् । ‘अस्पतालहरूमा अक्सिजनको व्यवस्था, औषधि, स्वास्थ्य सामग्रीहरू छिटो उपलब्ध गराउनुपर्छ’, उनले भने, ‘अक्सिजन नपाएर कोरोनाका बिरामी मर्नुपर्ने अवस्था आउनु हुँदैन ।’

कोरोनाका संक्रमितको उपचार, एम्बुलेन्स, स्वास्थ्य सामग्री, खाद्यान्नलगायतको व्यवस्थापन गर्न उनले सरकारसँग माग गरेका छन् ।

निषेधाज्ञा शुरु भएको लामो समय हुँदा पनि सरकारले मजदुरी गरेर खाने वर्गको खाद्यान्नको समस्या समाधान गर्न सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने उनले माग गरेका छन् ।

कोरोना महामारीका बेला पनि सरकारमा बसेकाहरू भ्रष्टाचार र लुटपाटमा लागेको भन्दै तरुण उपाध्यक्ष चापागाइँले दोषीलाई कारबाहीको माग गरेका छन् ।

कोरोनाविरुद्धको खोप खरिदमा कमिशनको खेलका कारण खोप आउन नसकेको समाचारप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको उपाध्यक्ष चापागाइँले बताएका छन् । उनले भ्रष्टहरूलाई कारबाही गर्नुपर्ने माग पनि गरेका छन् ।

उपाध्यक्ष चापागाइँले कोरोनाविरुद्धको लडाइँमा तरुण दलको पनि सहयोग रहनेभन्दै स्वास्थ्य मापदण्ड अपनाएर जागरण अभियान, खाद्यान्न सहयोगलगायतका कार्य गर्न अनुरोध गरेका छन् ।

Published : Wednesday, 2021 May 12, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया