दाङका जनताको उपचारमा खेलवाड नगर्न कम्युनिस्टलाई गिरीको चेतावनी, कांग्रेसले सक्दो सहयोग गर्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले सरकारलाई कोरोना महामारीका बेला जनताको स्वास्थ्यसँग खेलवाड गर्ने छुट नरहेको बताएका छन् ।

कांग्रेस नेता गिरीले बुधबार विज्ञप्ति जारी गरेर भने, ‘विभिन्न वहानामा आम जनताका दैनिक समस्या र स्वास्थ्यसँग खेलवाड गर्ने छुट छैन ।’ उनले कोरोना संक्रमितको उपचारबाट सरकार भाग्न नमिल्ने बताए ।

मानव स्वास्थ्य जस्तो गम्भीर सवालमा सम्पूर्ण राजनीतिक शक्तिहरूलाई एक ठाउँमा उभ्याउनुपर्ने वेला सरकार नै आम जनताको जीउ–धनको सुरक्षाप्रति उदासीन भएको गिरीले आरोप लगाएका छन् । गिरीले भने, ‘अस्पतालहरूमा उपचार नपाएर कोरोना संक्रमितहरू मर्न थालेका छन् । अन्य रोगका बिरामीहरूको पनि उपचार हुन सकेको छैन । सरकारले सबै कुराको व्यवस्थापन मिलाउनुपर्छ । सरकारलाई सहयोग गर्न कांग्रेस तयार छ ।’

उनले कोरोनाबाट अति प्रभावित जिल्ला दाङमा अक्सिजनको समस्या तत्काल व्यवस्था गर्न माग गरेका छन् । उनले अक्सिजन अभावमा उपचार गर्न नपाएर कोरोना संक्रमितले ज्यान गुमाउनु परेको भन्दै सरकारलाई दोष दिएका छन् ।

कोरोना अस्पतालहरूमा पर्याप्त अक्सिजन, आइसीयू, औषधि, चिकित्सकहरूलाई उचित भत्ता र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न कांग्रेस नेता गिरीले माग गरेका छन् ।

कोरोनाको दोस्रो चरणको महामारी आउने पूर्व जानकारी हुँदा पनि ओली सरकारले रोकथाम र उपचारमा ध्यान नदिएको उनले आरोप लगाएका छन् । कोरोना फैलाउनुमा ओली सरकारको ठूलो योगदान रहेको बताए ।

कोरोनाको नयाँ भेरियन्टले बालबालिका र युवाहरूमा समस्या बनाएको भन्दै पूर्वमन्त्री गिरीले उपचारमा विशेष ध्यान दिनुपर्ने बताए ।

नेता गिरीले कोरोना महामारीका बेला राजनीतिक दल, नेतासहित सबैको संयुक्त प्रयासमा नियन्त्रण गर्नुपर्ने बताए ।

‘पार्टीको एक जिम्मेवार सिपाहीको हैसिएतले यो विकराल अवस्थामा कोरोना वा अन्य रोगबाट पीडितहरूलाई अस्पतालमा भर्ना गर्न लगायत अन्य सेवामा म अहोरात्र क्रियाशील छु’, गिरीले भनेका छन् ।

‘अप्ठ्यारोमा जनताको सेवामा समर्पित हुनुलाई मैले मेरो परम कर्तव्यकै रूपमा लिएको छु’, उनले भने, ‘मप्रतिको जनअपेक्षालाई पूरा गर्ने गरी यो महामारीमा कटिवद्ध भएर अघि बढ्ने विश्वास पनि दिलाउँछु ।’

‘ओली सरकारको चरम उपेक्षाका वावजुत जनताको स्वास्थ्य सुरक्षामा अहोरात्र समर्पित स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको योगदानप्रति उच्च सम्मान प्रकट गर्दछु’, गिरीले भने ।

ओली सरकारलाई जनताले वाम गठबन्धनको नाममा पूर्ण बहुमतसहित पाँच वर्ष सरकार चलाउन बहुमत दिएको बताएका कांग्रेस नेता गिरीले भने, ‘पाँच वर्ष पुग्दा–नपुग्दै आफ्नै पार्टीभित्रको आन्तरिक कलहको कारण देखाउँदै नाटकीय ढङ्गबाट विभिन्न प्रकारका अराजनीतिक चालवाजी शुरु गरिएको छ ।’

‘मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने महत्वपूर्ण समयमा सत्ता दाउपेचमा रुमल्लिनु नेपाली जनताको समृद्धि सपनालाई आघात पार्नु हो’, गिरीले भनेका छन् ।

उनले यस्तो विकराल अवस्थामा जनताको आत्मवल बढाउनुको साटो सरकारका मन्त्रीहरू नै गैरजिम्मेवार तवरले अभिव्यक्ति दिंदै हिड्नु लोकतन्त्रिक शासन व्यवस्था भएको मुलुकका लागि लज्जाको विषय भएको उनले बताएका छन् ।

कम्युनिस्ट सरकारले कोरोना संक्रमितहरूको उपचार गर्न नसकेको भनेर आलोचना भइरहेका बेला कांग्रेस नेता गिरीले सरकारलाई खबरदारी गर्दै जनताको जीवन रक्षा गर्न सचेत गराएका छन् ।

दाङका अस्पतालहरूमा अक्सिजन, स्वास्थ्य सामग्री, औषधिहरू अभाव रहेको भन्दै गिरीले ती अभाव भएका सामग्रीहरू तत्काल ल्याउन पनि आग्रह गरेका छन् ।

उनले सत्तामा बसेकाहरूलाई जिम्मेवार बन्न सचेत गराएका छन् । कम्युनिस्टको तीन तहमा सरकार छ । तर, समयमा जनताको उपचारमा ध्यान दिएको छैन ।

Published : Wednesday, 2021 May 12, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया