चीनमा औषधि र स्वास्थ्य सामग्री अपलत्र, कांग्रेसद्वारा ढुवानीको व्यवस्था मिलाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले स्वास्थ्य सामग्रीको अभावका कारणले कोरोना संक्रमित र अन्य बिरामीहरूको उपचारमा कठिनाई भइरहको भन्दै चिन्ता जनाएका छन् ।

प्रमुख सचेतक खाणले बुधबार विज्ञप्ति जारी गरेर कोरोना संक्रमितको उपचारमा सरकार गम्भीर बन्न नसकेको बताए ।

‘यस्तो विषम परिस्थितिमा नेपाली जनतालाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिई कोभिड–१९ का संक्रमितको उपचार गर्नुपर्नेमा यस तर्फ सरकार गम्भीर भएको देखिदैन’, उनले भनेका छन् ।

‘स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने नेपाली कम्पनीहरूले खरिद गरेका स्वास्थ्य सामग्री तथा उपकरणहरु हवाईजाहजका अभावको कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेका छन्’, विज्ञप्तिमा भनिएको छ ।

‘गम्भीर विषयलाई मध्यनजर गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणहरूको हवाई ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको गम्भीर ध्यानकर्षण गराउँदछौं’, प्रमुख सचेतक खाणले भनेका छन् ।

कोभिड–१९ महामारीको कारणले दिनानुदिन संक्रमितको हजारौं संख्या र मृत्यु हुनेको सयांै संख्यामा वृद्धि हुँदै गइरहेको भन्दै नेता खाण चिन्तित बनेको जनाएका छन् ।

Published : Wednesday, 2021 May 12, 3:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया