डा.केसी भन्छन्, ‘कोरोनाको खोप पैसा तिर्न नसक्नेलाई निःशुल्क, सक्नेसँग पैसा मागौँ’

काठमाडौं । प्रा.डा.सुधांशु केसीले जनता बचाउन कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन सरकारसँग अनुरोध गरेका छन् ।

कोरोना महामारीका कारण संक्रमितले अक्सिजन नै नपाएर मर्न थालेपछि प्रा.डा.केसीले मंगलबार ट्वीट गर्दै कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन पहल गर्नुपर्ने बताएका हुन् ।

उनले भ्याक्सिन ल्याएर पैसा तिर्नेसँग पैसा लिएर र नक्नेलाई निःशुल्क खोप लगाइदिनुपर्ने बताएका छन् ।

‘सरकार, भ्याक्सिन ल्याउ, जनता बचाउ । पपुलर बन्न (जुन मौका गुमाइसकेका छौ) कोशीस नगरे हुन्छ’, प्रा.डा.केसीले भनेका छन् ।

‘नसक्नेलाई निःशुल्क देउ, हामी जस्ता सक्नेसँग परेको रकम लिउ । अझ सक्नेहरूसँग अरु २–४ जनालाई लगाउन पुग्ने पैसा लिउ’, उनले भने, ‘म नै १० जनाको लागि प्रायोजन गर्छु । म जस्ता थुप्रै आउँछन्, यसमा शंका छैन ।’

प्रधानमन्त्री खड्गप्रसाद ओलीको कम्युनिस्ट सरकार कोरोना रोकथाम, उपचारमा असफल भएको भनेर आलोचना भइरहेका बेला प्रा.डा.केसीले कोरोनाविरुद्धको खोपमा जोड दिएका छन् ।

उनले खोप लगाउँदा पैसा तिर्न सक्नेसँग पैसा लिनुपर्ने सुझाव सरकारलाई दिएका छन् । पैसा तिर्न नसक्नेलाई निःशुल्क खोप लगाइदिनुपर्ने सुझाव दिएका हुन् ।

Published : Tuesday, 2021 May 11, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया