नयाँ डीआईजीहरूको चुरीफुरी देखेर बालुवाटार–गृह–हेडक्वाटर छक्क, बिचौलियाहरूको चलखेल

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवाका लागि चलखेल शुरु भएको छ ।

गृह मन्त्रालयले गत वैशाखमा सातै प्रदेशसहित १० जना डीआइजीको सरुवा गरेको थियो ।

सरुवाका लागि एक वर्ष अबधि नपुगे पनि भर्खरै एसएसपीबाट बढुवा भएका केही डीआईजीहरूले गृह मन्त्रालयदेखि बालुवाटारसम्म दवाव सिर्जना गरेका छन् ।

प्रदेशको प्रहरी प्रमुख बन्न डिआइजीहरू मुकुन्द आचार्य र गणेश ऐरले सबैभन्दा बढी चलखेल गरेको गृह स्रोतले जनाएको छ । उनीहरूले ठूलो राजनीतिक दवाव दिएका छन् ।

दिवेश लोहनी केन्द्रीय अनुसन्धान व्युरो(सीआईबी) र प्रदेश १ मध्ये एक ठाउँमा जान खोजेका छन् । मुकुन्द आचार्य पनि प्रदेश नं. १ वा लुम्विनी प्रदेशमा जान खोजेको स्रोतले जनाएको छ ।

डीआईजीहरूलाई आकर्षक ठाउँमा पठाइदिनेभन्दै केही बिचौलिया र तस्करहरू गृहसचिव महेश्वर न्यौपानेसँग लबिङमा लागेको स्रोतले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय अन्वेषण निर्देशनालयमा रहेका आचार्यले गृह मन्त्रालयदेखि बालुवाटारसम्मको शक्ति प्रयोग गरी दुईमध्ये एउटा प्रदेशमा सरुवा हुन खोजेको चर्चा हेडक्वाटर र सिंहदरबारमा छ ।

प्रहरीको सरुवा र बढुवामा सचिव न्यौपानेका भाञ्जा सुजन पौडेलको पनि चलखेल गरेको आरोप छ ।

डीआईजीहरूले बिचौलिया र तस्करमार्फत सरुवामा चलखेल गर्न थालेपछि आईजीपी शैलेश थापा क्षेत्री रुष्ट बनेको स्रोतले जनाएको छ । आईजीपी थापा प्रहरी संगठनलाई कतैबाट हस्तक्षेप नहोस् भनेर शपथ लिएकै दिनदेखि दृढताका साथ बसेका छन् । तर, विचौलियाहरूले आईजीपीलाई राजनीतिक दवाव सिर्जना खोजेको चर्चा छ ।

सुजन पौडेलले बालुवा तस्करीको रकममा मोलमोलाई नमिलेपछि बौद्धका डीएसपी श्याम राईलाई अख्तियार लगाएर फसाएको आरोप पनि छ ।

डीएसपी राईले विशेष अदालतबाट सफाई पाइसकेका छन् । गृह सचिव न्यौपाने त्यस बेला अख्तियारको सचिव थिए ।

लुम्विनी प्रदेश र प्रदेश नं. १ मा केराउ, छोकडा, सुपारी लगायतका सामग्री भारततिर तस्करी हुने गरेको आरोप छ ।

मुकुन्द आचार्य झापा र नवलपरासीको एसपी भएर काम गरिसकेका छन् । उनलाई तस्करीको नेटवर्कका बारेमा राम्रोसँग जानकारी रहेको प्रहरीभित्र चर्चा छ ।

झापाका सुपारी तस्करहरू आचार्यलाई प्रदेश नं. १ मा लैजान चलखेल गरिरहेको जनाइएको छ ।

नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाबाट तस्करी गर्दै आएका समूहले उनलाई लुम्विनी प्रदेशमा लैजान चलखेल गरेको स्रोतको भनाइ छ ।

नवलपरासीमा एसपी छँदा मुकुन्द आचार्यले परिचालन गरेका घुमुवा बुद्ध रायमाझीले व्यापारीदेखि तस्करहरूसँग रकम असुल्ने गरेको आरोप छ ।

महेशपुर इप्रकाका प्रहरी प्रमुखलाई मासिक रकम दिनुपर्ने अनि सामान ल्याउन रोकेपछि व्यापारीहरूले विरोध गर्दा महेशपुर छोटी भन्सार नाकामा झडप नै भएको थियो ।

घुमुवा रायमाझीकै कारण त्यतिखेर महेशपुर भन्सार कार्यालयको गोदाममा भन्सार जाँचका लागि राखिएको कपडाको विवादलाई लिएर स्थानीय व्यापारी र प्रहरीबीच झडप हुँदा स्थानीय हीरालाल गुप्ता, पवन निगम र चिन्कु निगम घाइते भएका थिए ।

नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलदेखि बुटवलका दीपक शाही, रहमोद मुसलमान, समीर मुसलमान, ललु, प्रकाश नामका तस्करहरू पनि डीआईजी आचार्यलाई लुम्विनी प्रदेशको प्रमुख बनाएर ल्याउन चलखेल गरेको चर्चा छ ।

प्रहरीमा आचार्यको बिगतको छवि राम्रो मानिदैन । ओमबिक्रम राणा आईजीपी छँदा चालचलन शाखामा कार्यरत रहेका बेला मेनपावर कम्पनीहरूको स्वार्थमा चालचलन रिपोर्ट दिने गरेको उनीमाथि आरोप लागेको थियो ।

चालचलनको रिपोर्ट सन्तोष उप्रेती (पछि रातो पासपोर्ट बिक्रीकाण्डमा परेका) सँग कनेक्सन गरी घुस लिएर दिने गरेको विषयमा पनि सञ्चारमाध्यमले उठाएका थिए । आचार्य झापाको प्रहरी प्रमुख हुँदा डीएसपी देवी पौडेललाई लगेर उनीमार्फत् तस्करीबाट असुली गरी बदनाम भएका थिए ।

काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवालीको कार्यकालमा डीएसपी देवी पौडेलले उनलाई समेत विवादमा पारेका थिए ।

हुन्डी कारोबारी विकास अग्रवाललाई भगाउनदेखि सुन बरामद प्रकरणमा डीएसपी पौडेलले एसएसपी ज्ञवालीलाई विवादमा पारेका थिए ।

आइजीपी क्षेत्रीले धेरै विवाद आएपछि डीएसपी पौडेललाई तानेका थिए । पौडेलजस्ता बदनाम डीएसपीलाई आचार्यले झापा लगेर तस्करहरूसँगबाट असुली गरेको आरोप लागेको थियो ।

Published : Tuesday, 2021 February 2, 10:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया