चप्पल लगाउने कम्युनिस्टहरू हेलिकप्टर चढ्ने भए, राष्ट्रपति–मुख्यमन्त्री बने, जनताको काम भएनः उत्तम चापागाइँ

षडानन्द । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले चप्पल लगाएर हिँड्ने कम्युनिस्टहरू सत्तामा पुगे पनि भोजपुरको विकास गर्न नसकेको टिप्पणी गरेका छन् ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका– २ कुदाकाउलेमा शुक्रबार आयोजित सरकार विरोधी कार्यक्रमलाई सम्बोधन गर्दै चापागाइँले जनताले चप्पल लगाउने कम्युनिस्टलाई सत्तामा पुर्‍याए पनि जिल्लाको विकास हुन नसकेको बताए । उनले भोजपुरले कम्युनिस्टहरूलाई राष्ट्रपति, मन्त्री र मुख्यमन्त्री बनाएपनि जनताको जीवनमा कुनै सुधार हुन नसकेको बताए ।

‘विगतमा चप्पल लगाएर हिँड्ने कम्युनिस्टहरू हेलिकप्टर चढ्ने भएका छन्’, उनले भने, ‘भोजपुरको विकास हुन सकेको छैन । सत्तामा उनीहरू छन् । विकास गर्न कांग्रेस अगाडि आउनुपर्छ ।’

उनले भोजपुरका जनताले कम्युनिस्टहरूलाई राम्रोसँग चिनेको बताएका छन् । ‘दुईतिहाइको बहुमत पाएर सरकार चलाउँदा पनि कम्युनिस्टहरूले माल पाएर चाल पाएनन् । प्रतिनिधि सभा भङ्ग गरेका छन्’, युवा नेता चापागाइँले भने, ‘जनताको जनप्रतिनिधि संस्था भङ्ग गरिएको छ । संविधान उल्लंघन गर्ने काम भएको छ ।’

तरुण उपाध्यक्ष चापागाइँले कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा गर्न देशभरिका तरुणहरू बलिदानी दिन तयार रहेको बताए । उनले भने, ‘कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई असफल बनाउन यी कम्युनिस्टहरू एक भएका छन् । संसद विघटन गर्नमा केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालहरू सबै बराबरको भागिदार छन् ।’

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता एवम् षडानन्द नगरपालिकाका मेयर वीरबल राईले कम्युनिस्टहरूलाई विकास विरोधीको आरोप लगाए । उनले नगरपालिकामा जनताका काम र विकासका कार्यक्रमहरू ल्याउँदा कम्युनिस्टहरूले असहयोग गर्ने गरेको बताए ।

‘कम्युनिस्टहरू विकास विरोधी हुन्’, मेयर राईले भने, ‘षडानन्द नगरपालिकामा कांग्रेस अल्पमतमा रहेका कारण काम गर्न असजिलो भएको छ ।’

कार्यक्रममा भोजपुर कांग्रेसका सदस्यद्वय भीम तामाङ, अम्विका राई, राजकुमार तामाङ, वडा नं. १ का वडाध्यक्ष रामेश्वर भण्डारी, वडा नं. २ का वडाध्यक्ष विष्णुप्रसाद घिमिरे, नेपाल तरुण दल भोजपुरका उपाध्यक्ष किशोर राईलगायत नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

तरुण उपाध्यक्ष एवम् कांग्रेसका युवा नेता चापागाइँ भोजपुरमा हुने आधा दर्जन कार्यक्रमहरूमा सहभागी हुनेछन् ।

Published : Friday, 2021 January 22, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया