कम्युनिस्टहरूले अब आन्दोलन टाउकै फुटाउने गरि डरमर्दो गर्ने, हिंसात्मक र ज्यान जान सक्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको आन्दोलन हिंसात्मक हुने संकेत गरेका छन् ।

काठमाडौंमा आइतबार अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै दाहालले अबका आन्दोलनमा झडपमा उत्रिन विद्यार्थीलाई उक्साएका हुन् । उनले आक्रामक शैलीमा विद्यार्थीलाई उत्तेजित बनाएका छन् ।

दाहालले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध शाकाहारी आन्दोलनले नपुग्ने बताए ।

‘शाकाहारी आन्दोलनलाई त ओलीले गन्नेवाला नै छैनन्’, दाहालले भने, ‘त्यस्तो त हामीले पार्टीमा कति गरियो, गरियो ।’

विद्यार्थीलाई आफूहरूको आन्दोलन आवेगमय हुनुपर्ने भनेर दाहालले उचालेका छन् ।

‘अलि जुझारु हुनुपर्‍यो । अलि आक्रामक हुनुपर्‍यो’, उनले भने, ‘बाघ र सिंह गर्जिएजस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीहरूको मुटु थर्किनुपर्‍यो, हल्लिनुपर्‍यो ।’

‘९ गते हामी सशक्त रुपमा जाने सोँचेका छौं’, अध्यक्ष दाहालले भनेका छन्, ‘आन्दोलनको अग्रपंक्तिमा हामी हुन्छौं ।’

अध्यक्ष दाहालले भनेका छन्, ‘हिजो गिरिजाबाबु, माधव नेपाल र झलनाथहरूले लाठी खाएजस्तै मेरो टाउको चिलाइरहेको छ । मलाई लाठी खान मन छ यसपटक ।’

विद्यार्थीको टाउको जोगाउनका लागि आफ्नो टाउको फुटाउन तयार रहेको दाहालले बताएका छन् । ‘प्रतिगामीहरूको षडयन्त्रलाई सफल हुन दिइँदैन’, उनले भनेका छन् ।

नेपाललाई निरंकुशतामा पु¥याउने डरलाग्दो षडयन्त्र भइरहेको अध्यक्ष दाहालले बताएका छन् । ‘एउटा शब्द खुब सुनिन्छ आजभोलि– सेटिङ । यो डरलाग्दो शब्द छ अहिले’, उनले भने, ‘केपीका मान्छेले भन्दै हिँडेका छन् ।’

‘म अदालतमाथि शंका गर्न चाहन्न तर ओलीको सेटिङलाई शंका गर्न पाइयो नि’, उनले भने, ‘हामी निर्वाचन आयोगलाई शंका गर्न चाहँदैनौं ।’

‘ओली र ओलीको निकटका मान्छेले सेटिङ भइसक्यो भन्दै हिँडेकोलाई त शंका गर्न पाइयो नि’, दाहालले भनेका छन् ।

दाहालले केपी ओलीमा लाज बाँकी नरहेको आरोप लगाएका छन् । ‘मान्छे भएपछि लाज लाग्नुपर्छ’, उनले भने, ‘केपीजीलाई लाज छैन । नांगै छन् तर, हाँसिरहेका छन् ।’

‘तपाईं हामी नांगै भयौं भने हाँस्न सकिन्छ त ? तर कस्तो मान्छे– केपीजी त हाँसिरहनुभएको पो छ’, उनले भने, ‘देश बर्बाद भइरहेको छ, आगो लागिरहेको छ, डढेलो सल्किरहेको छ । तर उहाँ हाँसिरहनुभएको छ ।’

अध्यक्ष दाहालले आन्दोलन गर्दै आएका छन् । अबका आन्दोलनहरू शाकाहरी नहुनेभन्दै टाउको फुटाउने मन छ भनेपछि कम्युनिस्टहरूले गर्ने आन्दोलनहरू हिँसात्मक हुने भयो भनेर चर्चा हुन थालेको छ ।

Published : Sunday, 2021 January 17, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया