कांग्रेसद्वारा आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन भएको विरोधमा शनिबार देशभरि स्थानीय तहहरूमा प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध कांग्रेसले प्रदर्शन गर्न लागेको हो । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिने जनाएको छ ।

यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले ७ सय ५३ स्थानीय तहमा शनिबार हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि पुनःस्थापनाको माग भने गरेको छैन ।

कांग्रेसले सरकारको कदमविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको फैसला कुर्ने रणनीति लिएको छ ।

अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरे स्वागत गर्ने नत्र चुनावमा जाने कांग्रेसको तयारी छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटतर्फ धकेल्ने काम गरेको दाबी गरेका छन् ।

Published : Saturday, 2021 January 16, 7:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया