कांग्रेसको आन्दोलन तुहाउने गरेर पौडेल समूहको गुटको गोप्य भेला, प्रचण्ड–माधव समूह मुख्ख

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह प्रधानमन्त्री केपी ओली र कम्युनिस्ट सरकारविरुद्ध एक भएर जाने बेला गुटको भेलामा जुटेको छ ।

काठमाडौंको महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा आइतबार पौडेल समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहलाई फाइदा हुने गरेर छलफल र परामर्श गरेको स्रोतले जनाएको छ ।

पौडेल समूहले सभापति शेरबहादुर देउवाको आलोचना गर्दै प्रधानमन्त्री केपी ओलीलाई भन्दा पनि प्रचण्ड–माधव समूहसँग निकट हुने गरेर जान दवाव सिर्जना गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

गुटको भेलाले देउवाले प्रधानमन्त्री ओलीलाई साथ दिएको निष्कर्ष निकालेको छ । पौडेल समूहले देउवाको गतिविधि र अभिव्यक्तिले ओलीको असंवैधानिक कदमलाई सहयोग पुगेको जनाएको स्रोतले जनाएको छ ।

प्रचण्ड र माधव नेपालसँग गोप्य भेट गरेका पौडेल निर्वाचनमा जान डराएका छन् । उनले देउवालाई असहयोग गर्दै प्रचण्ड–माधव समूहलाई फाइदा हुने गरेर गतिविधि गर्दै आएको भनेर आलोचना भएका बेला पौडेल समूहको गुटको भेला भएको छ । प्रचण्ड–माधव नेपालले पौडेललाई राष्ट्रपति बनाउने गोप्य प्रस्ताव राखेको समाचार चुहिएपछि पौडेल तनाबमा छन् ।

पौडेललाई चुनावमा पराजित हुन्छु भनेर निर्वाचनमा जान डराएको भनेर आरोप पनि लाग्दै आएको छ । पूर्वमन्त्री गोविन्दराज जोशीलाई कारबाही गराएर पार्टीबाट निस्काशन गर्न लगाउने पौडेलले केही दिन अगाडि मात्रै जोशीलाई स्वास्थ्य लाभको कामना गरेर फेसबुकमा स्टाटस लेखेका थिए । पौडेललाई तनहुँमा जित्नका लागि जोशीको सहयोग अनिर्वाय जस्तै छ ।

कांग्रेस आन्दोलनमा छ । आन्दोलनलाई कमजोर बनाउने गरेर पौडेल समूहको गुटको भेला भएपछि कांग्रेसका कार्यकर्तामा निरासा छाएको छ ।

पौडेल गुटको भेलाले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको एक नेताले बताएका छन् ।

नेता पौडेलले सभापति देउवाका कारण कांग्रेसमाथि प्रश्न उठेको बताएका छन् । देउवाले सर्वोच्च अदालतबाट संसद पुनःस्थापना वा निर्वाचन जे फैसला भएपनि कांग्रेसलाई स्वीकार्य हुने बताउँदै आएका छन् ।

पौडेलले कांग्रेस निर्वाचनका लागि तयार छ भन्नुको अर्थ असंवैधानिक कदमलाई साथ दिएको ब्याख्या गरेका छन् ।

कांग्रेसको आन्दोलनमाथि पनि पौडेल समूहले प्रश्न उठाएको छ । गुटको भेलामा सहभागीहरूले देउवाको चर्को आलोचना गरेका छन् ।

महामन्त्री डा. शशांक कोइरालाले आन्दोलनमा जनताको समर्थन बढेको बताएका छन् ।

पौडेल समूहको गुटको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, दिलबहादुर घर्ती, जीवन परियारलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

भेलामा पार्टीको १४औँ महाधिवेशन टार्ने सम्भावना देखिएको भन्दै नेताहरूले सभापतिलाई बुझाइएको १६ बुँदे माग पत्रका कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन् ।

समायोजन, क्रियाशील सदस्यता वितरण र नवीकरण लगायतका विषयमा देखिएका समस्या समाधान गर्न सभापति देउवा अनिच्छुक भएको आरोप पौडेल समूहको छ ।

Published : Sunday, 2021 January 10, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया