ओलीसँगको झगडामा कांग्रेसलाई क्षति पुर्‍याउने प्रचण्ड–माधवको योजना, लोभमा परे पौडेल

काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई सत्तामा टिकाइराख्न विभिन्न हत्कण्डा अपनाइरहेका छन् । ओलीले आफ्नै पार्टीले पाएको झण्डै दुईतिहाइको बहुमतलाई समेत विश्वास गरेनन् ।

ओलीले संसद विघटन गरेर दुईतिहाइको बहुमत तहस–नहस बनाएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर वैशाखमा मध्यावधी निर्वाचन गर्ने जनाएका छन् । ओलीले वैशाखमा कुनैपनि हालतमा निर्वाचन नगर्ने उनकै निकटका नेताहरूले बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासमा लिएर संसद विघटन गरेर वैशाखमा निर्वाचनको तयारी गरेका ओलीले निर्वाचनका लागि आवश्यक पर्ने कुनै पनि काम गरेका छैनन् । ओली निकटका एकजना केन्द्रीय सदस्यले भने, ‘वैशाखमा निर्वाचन हुँदैन । निर्वाचन भइहाल्यो भने आगामी मंसिर–पुस महिनातिर होला ।’

ओलीले संसद विघटन गरेर आफू अनुकूलको निर्णय गर्नका लागि विभिन्न तयारीहरू गरिरहेका छन् । ओलीले संकटकाल लगाउने विषयमा पनि निकटा नेताहरूसँग परामर्श गरेको स्रोतले जनाएको छ । ओलीले तीन वर्ष सरकार चलाएका छन् । बाँकी रहेको दुई वर्ष पनि यस्तैखालका हत्कण्डाहरू गरेर सरकार चलाउने पक्षमा ओली देखिएका छन् । ओलीका लागि दुई वर्ष यसै गरी सरकार चलाउने फण्डा सजिलो छैन ।

नेपाली कांग्रेसले ओली सरकारप्रति नरम भाव देखाएपनि १९ गतेको केन्द्रीय कार्यसमितिबाट स्थानीय तह केन्द्रित आन्दोलनको घोषणा भएपछि समयले केही कोल्टे फेरेको छ । देउवाले ओलीलाई साथ दिएको जस्तो देखिए पनि निर्वाचन गराउन दवाव सिर्जना हुनेछ ।

कांग्रेसले ओलीलाई साथ दिए पनि निर्वाचनमा छुट दिनेछैन । ओलीले बाँकी दुई वर्ष पनि अस्थिरता मच्चाएर सरकार चलाउने योजना बनाएका छन् । उनको योजना सफल हुनेछैन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको लोभदेखाएर उचालेका छन् । पौडेललाई उचालेर प्रचण्ड–माधव समूहले कांग्रेसलाई फुटाउनेसम्मको योजना बनाएको चर्चा हुन थालेको छ ।

मंगलबार डा.बाबुराम भट्टराईले आयोजना गरेको अन्तरक्रियामा पुगेर पौडेलले पार्टीको नीति र निर्णयविरुद्ध अभिव्यक्ति दिएका छन् । कांग्रेस नेता पौडेलले कसको उक्साहटमा पार्टीको निर्णयविरुद्धको हर्कत गरेका हुन् ? भनेर प्रश्न उठेको छ ।

देउवाले ओली, प्रचण्ड, माधव र वरिष्ठ नेता पौडेलको गतिविधिलाई नजिकबाट नियाली रहेका छन् । उनीहरूले कांग्रेसलाई ठूलो क्षति पु¥याउन सक्ने सम्बन्धमा देउवा सचेत छन् । कांग्रेसलाई नोक्सानी हुनबाट बचाउन देउवाले आन्दोलन घोषणा गरेका हुन् ।

Published : Thursday, 2021 January 7, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया