नेपाल–भारतको नागरिकता बोक्ने यी व्यापारीको हर्कतनै ठूला, मीनालाई पनि नागरिकता, गृहद्वारा छानबिन

काठमाडौं । भारतीय नागरिक सोमेशकुमार सिंहले झुटो विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र लिएर नेपालमा गैरकानूनी रुपमा व्यावासाय गरेर बसेको खुलेपछि गृह मन्त्रालयमा उजुरी परेको छ ।

बिहार, हाजीपुर बैशालीका व्यापारी सिंहले वीरगञ्ज–७ वाट नेपाली नागरिकता लिएर गैरकानूनी रुपमा व्यावसाय गरेको र नेपाली मुद्राको अबैध कारोवार गरिरहेको खुलेपछि उनीबिरुद्ध गृह मन्त्रालयसहित केन्द्रीय अनुसन्धान व्युरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरकारी निकायमा उजुरी परेको छ ।

अहमदवादस्थित क्याडिला फर्मास्युटिकल लिमिटेड, भारतको आधिकारिक विक्रेताका रुपमा रहेको सिंहले वीरगञ्जमा केन्द्रीय कार्यालय राखेर आर्थिक कारोवार गरिरहेको उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीअनुसार २०५४ साल चैत २८ गते भारतीय दूतावास, लैनचौरमा आफ्नो नाम दर्ता गरी औपचारिक रुपमा नेपाल छिरेका सिंहले त्यसको केही वर्षमा नै वीरगञ्ज–७ को ठेगानावाट २०६३ चैत १२ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको उजुरीमा उल्लेख छ । ‘जन्मको आधार’ उल्लेख गरेर सिंहलाई सो नागरिकताको प्रमाणपत्र नागरिकता टोली प्रमुख राजकुमार अधिकारीले दिएको उल्लेख गर्दै गृह मन्त्रालयमा पेश गरिएको उजुरीमा उल्लेख छ ।

उजुरीका अनुसार किशोरकुमार सिंहका छोरा सोमेश कुमारले हाजिपुर, बैशाली बिहारवाट मतदान गर्न पाउने गरी बिआर ०८–०४५–०७२०९७ नम्बरको भारतीय मतदाता परिचय पत्र मात्रै बोकेका छैनन्, भारतीय राहादानी नम्बर २२६४१२४ बोकेर देश बिदेश यात्रा गर्ने गरेको पनि उजुरीमा उल्लेख गरिएको छ ।

नेपाली नागरिकताको आधारमा यातायात बिभागवाट ०२–०५–००४११४६६ नम्बरको सवारी चालक अनुमति पत्र लिएको भन्दै गृह मन्त्रालयमा गत पुस १६ गते विजयकुमार उपाध्यायले उजुरी परेपछि मन्त्रालयले कारवाही प्रक्रियासमेत अघि बढाइएको छ ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दोहोरो नागरिकता लिएका सिंहबिरुद्धको उजुरीलाई छानबिन गर्न मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको जानकारी दिएका छन् । ‘मन्त्रालयमा सोमेश कुमारले दोहोरो नागरिकता लिएर गैरकानूनी रुपमा व्यावसायसमेत गरेको भन्ने उजुरी परेपछि त्यसको थप छानबिन गर्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरिसकेका छौं’, प्रवक्ता बुढाले भने, ‘उहाँको नागरिकताका बारेमा सिआईवीले पनि छानबिन गरिरहेको भन्ने रिर्पोट मन्त्रालयमा आइपुगेको छ, छानबिनपछि दोषी भए कारवाही गरिनेछ ।’ उनका अनुसार सिंहको दोहोरो नागरिकताका बारेमा पर्सा, जिल्ला प्रशासन कार्यालयले छानबिन प्रक्रियासमेत अघि बढाई सकेको छ ।

गत पुस १६ गते उजुरी परे लगत्तै मन्त्रालयका प्रवक्ता बुढाले भाईवरमार्फत सो उजुरी पर्साका प्रजिअ अश्मान तामाङलाई पठाइदिएका थिए । ‘उहाँ (सोमेशकुमार)ले दोहोरो नागरिकता लिएको भन्ने उजुरी आए लगत्तै छानविन प्रक्रिया अघि बढाई सकिएको छ’, प्रजिअ तामाङले भने, ‘गृह मन्त्रालयवाट सिधै निर्देशन आएको र प्रमाणसमेत पेश भएको अवस्थामा उहाँको भारतमा के कस्ता सरकारी कागजात छन, त्यसका बारेमा जानकारी लिने क्रम सुरु भएको छ ।’

तामाङका अनुसार सोमेशकुमारले भारत–नेपाल दुवैवाट दोहोरो नागरिकता लिएको र गैरकानूनी रुपमा व्यावासाय गरेको प्रमाणित भएमा नागरिकता ऐन अनुसार कारवाही गरिनेछ ।

भारतीय मतदाता हेल्पलाईनमा उल्लेख भएअनुसार सिंहले एमएनक्यु १४६३३४८ एपिक नम्बरवाट हाजिपुर–१२३ एसम्बेली कन्सिटन्युसीमार्फत मतदान गर्दै आएको उजुरीमा प्रमाणको रुपमा उल्लेख गरिएको छ ।

उक्त मतदाता परिचय पत्रअनुसार पार्ट नम्बर २६ अन्तर्गत पथ निमार्ण कार्यालय हाजिपुर, दक्षिणी भाग कर्मसंखीय–०२ मतदान केन्द्रमा सोमेशकुमारले मत खसाल्दै आएका छन् ।

त्यसो त, नेपालस्थित भारतीय दूतावासले पनि सिंहलाई ‘सर्टीफिकेट अफ रजिष्ट्रेशन एज ईन्डियन नेशनल’ भन्दै २०५४ चैत १८ गते आफनो नागरिक भएको प्रमाणपत्र दिँदैै प्रतिरक्षा गर्न प्रमाण पत्र दिएको उजुरीमा संलग्न कागजमा उल्लेख गरिएको छ ।

गैरकानूनी रुपमा नेपाली नागरिकता लिएर नेपालमा औषधि आयातको व्यवासाय गरिरहेका सोमेशकुमारले भारतमा जन्म भएकी श्रीमती मीना सिंहलाई आफ्नो नागरिकतामार्फत बैबाहिक अङ्गिकृत नागरिकता प्रदान गराएको रहस्य पनि खुलेको छ ।

२०६९ साल जेठ १६ गते प्रशाशकीय अधिकृत सुकदेव लम्सालले श्रीमती मीनालाई बैबाहिक अङ्गिकृत नागरिकता दिलाएपछि श्रीमती सिंहले ‘लाईफ केयर सप्लायर्स प्राईभेट लिमिटेड’ नामक व्यापारिक संस्था खोली भारतवाट नेपालमा औषधिजन्य वस्तु आयात गरी करोडौंको कारोवार गर्दै आइरहेको उजुरीमा उल्लेख गरिएको छ ।

साझेदार प्रदीप खण्डेलवालका छोरा राहुल खण्डेलवालसँग मिलेर भारतवाट औषधि आयात गरी अबैध रुपमा नेपाली मुद्रा बिदेश पठाउने गरेको अनुसन्धान व्युरोमा उजुरी परेपछि आर्थिक पाटोका बारेमा पनि छानबिन शुरु भएको छ ।

‘दोहोरो नागरिकता लिएको बिषयमा वीरगञ्जमा भनाभन हुँदा एकपटक बिहारवाट गुन्डाहरू ल्याएर पेस्तोल देखाई तर्साउने काम सोमेशले गरेका थिए’, उनी निकट एक आफन्तले भने, ‘नेपाली नागरिकता लिएर अबैध कारोवार गर्ने र गुन्डागर्दी गर्ने काम अहिले पनि गरिरहेका छन् । कारवाही कसैले गरिरहेको छैन् ।’

त्यसो त, उनको ‘गुन्डागर्दी’वारेमा पर्सास्थित बिभिन्न पत्रपत्रिकाले लेखेको भए पनि पक्राउ गरी कारवाही नगरिएको आफन्तजनको गुनासो छ ।

अख्तियार र अनुसन्धान व्युरोमा उजुरी परेपछि उनको आर्थिक स्रोतलगायत यसअघि परेको उजुरीका बारेमा गम्भिरतापूर्वक व्यरोले छानबिन सुरु गरेको बुझिन आएको छ । ‘दोहोरो नागरिकता लिई गैरकानूनी रुपमा व्यावसाय सञ्चालन गर्दै गैरकानूनी रुपमा व्यावसाय सञ्चालन गर्दै गैर कानूनी रुपमा नेपाली मुद्रालाई भारतमा निर्यात गर्ने भारतीय नागरिक सोमेस सिंह र मीना सिंहलाई कारवाही गरिपाऊँ’ भन्दै विजयकुमार उपाध्यायले गृह, केन्द्रीय अनुसन्धान व्युरो र अख्तियारमासमेत उजुरी दिएका छन् ।

गृहका प्रवक्ता बुढाले दोहोरो नागरिकता र आर्थिक अनुशासन उलंघन गरेको प्रमाणित भएका दुवै खाले कारवाही सिंहलाई गरिने बताए । उजुरीका बारेमा सिंहलाई सम्पर्क गरी जानकारी लिन खोज्दा केही बताउन चाहेनन् ।

Published : Thursday, 2021 January 7, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया