कांग्रेसको १४औँ महाधिवेशन फागुनमै हुन्छः डा.प्रकाशशरण महत

बारा । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले फागुनै पार्टीको १४औँ महाधिवेशन हुने बताएका छन् ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–९ मा मंगलबार स्व.अनुप सहनीको १३औँ दिनको पून्यतिथिका अवसरमा आयाजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै डा.महतले पार्टीको महाधिवेशन फागुनमै गर्न नेतृत्व लागिपरेको बताए । उनले क्रियाशील सदस्यताको नामावली आउनेवित्तिकै निर्णयहरू हुने बताएका छन् ।

‘फागुनमा १४औँ महाधिवेशन छ । कोरोनाले गर्दा केही कार्यक्रम प्रभावित भएको छ’, उनले भने, ‘सानोतिनो फेरबदल हुन्छ होला । विधानअनुसार अधिवेशन हुन्छ । क्रियाशील सदस्यता आउनेवित्तिकै काम अगाडि बढ्छ ।’

कम्युनिस्ट सरकारले भ्रष्टाचार, अराजकता, कुशासन गरेको भन्दै सह–महामन्त्री डा.महतले सरकारविरुद्ध अब सडक र सदनमा कांग्रेस जाने चेतावनी दिए । उनले स्वास्थ्यसम्बन्धि मापदण्ड अपनाएर सरकारविरुद्ध आन्दोलन हुने बताए । उनले सदनको विशेष अधिवेशन माग गर्ने समेत बताएका छन् ।

सरकारले जनतालाई सधैँ झुक्काएको उनले आरोप लगाएका छन् । ‘मुखले बोलेर राष्ट्रवादी हुदैन । कामले गर्नुपर्छ’, उनले भनेका छन्, ‘निर्वाचनमा राष्ट्रियताका कुरा गरेर जनतालाई झुक्काएर जितेका छन् ।’

उनले सरकारले लकडाउनका बेला कोरोनाको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको बताए । भ्रष्टाचारको कुरालाई सदन र सडक दुबै ठाउँमा उठाउने बताए ।

लोकतन्त्रमाथि पछिल्लो समय प्रश्न उठेको भन्दै कांग्रेसका सह–महामन्त्री डा.महतले भने, ‘लोकतन्त्र असफलता होइन । लोकतन्त्र कहिल्यै पनि असफल हुँदैन । कम्युनिस्टको असफलता हो । जनताले गल्ती गर्दा कम्युनिस्टले लोकतन्त्रको बदनाम गरेका छन् । यो व्यवस्थालाई संस्थागत गर्ने हो । जसले सत्ताको दुरुपयोग गरेर बदनाम गरेको छ । त्यसलाई जनताले सत्ताबाट निकाल्नुपर्छ ।’

कांग्रेसले जहिले पनि जनताको काम मात्रै गरेको उनले बताए । उनले भने, ‘कांग्रेसले प्रचार गर्न जान्दैन । प्रोपोगण्डा गर्न जान्दैन । संविधान कांग्रेसले बनाएका हौँ । कांग्रेसले सबैको अधिकारका लागि लडेको छ । आफूले गरेको कामलाई जनता समक्ष भन्दैन ।’

विगतमा कांग्रेसबाट गल्ती भएको उनले बताए । ‘कांग्रेसले कत्तिपनि गल्ती गरेको छैन भन्दैन । हामीबाट पनि गल्ती भएको छ । हामीले हिजोका दिनको पाठ सिकिरहेका छौँ’, उनले भने, ‘पहिला विधि, संविधानलाई संस्थागत गरौँ भनेर लागेका थियौँ । गिरिजाप्रसाद कोइरालाले शान्तिका लागि निर्णय गर्दा हामी दोस्रो पार्टी भयौँ ।’

डा.महतले अहिले संसदमा कांग्रेस सानो संख्या मात्रै भएको बताए । उनले चुनाव कांग्रेसले गराएको भन्दै संविधानलाई संस्थागत गर्न निर्वाचन गरिएको बताए ।

‘प्रचण्डजी केपी ओलीसँग मिल्यो भन्दैमा चुनाव नगर्ने भन्ने कुरा रहेन । संविधान संस्थागत गर्न निर्वाचन गरेका हौँ’, सह–महामन्त्री डा.महतले भने, ‘नेकपाले प्रोपोगण्डा गरेर जनतालाई झुक्काएर भोट तान्यो । जनताले भोट पनि हालेर जिताए । जनतालाई सधैँ कम्युनिस्टले धोका दिएका छन् ।’


ओली सरकारले कोरोनाका बेला भ्रष्टाचार गरेको आरोप उनले लगाएका छन् । ‘कोरोना ओलीलाई रक्षाकवच भएको छ । सत्तासंघर्षको रक्षाकवच भएको छ’, उनले भने, ‘राष्ट्रियताको पनि रक्षाकवच भएको छ । उनीहरूले राष्ट्रियताको ठेक्का लिएका छन् ।’

‘राष्ट्रियताका विषयमा कांग्रेसले जहिले पनि कुटनैतिक कुरा गरेको छ’, उनले भने, ‘उनीहरूले जनतातिर कुरा राख्ने गर्छन् । कुरा गर्नुपर्ने चीन र भारतसँग हो । कम्युनिस्टले चीन र भारतसँग कुरै राख्न सक्दैनन् ।’

यसैबीच, सह–महामन्त्री डा.महतले बाराका पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरेका थिए । उनले नेपाल–भारत सीमाको निरीक्षण गरेका छन् । डा.महतले सिम्रौनगढको रानीबास मन्दिरको पनि दर्शन र अवलोकन गरेका थिए ।

Published : Tuesday, 2020 December 1, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया