कांग्रेसको अपमान गर्ने ओली–दाहाललाई साथ नदिन कार्यकर्ताको दवाव

काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद देखिएको छ । कांग्रेसमा भन्दा पनि धेरै विवाद नेकपाभित्र देखिएको छ । केपी ओली र पुष्पकमल दाहालबीच सम्वादको अवस्था जटिल बनेको चर्चा पनि छ । दाहालले पार्टी चलाउन सकेका छैनन् । ओलीले दाहाललाई पार्टी चलाउन दिनेवित्तिकै ओली झन् अल्पमतमा पर्नेछन् ।

कांग्रेसले आफूलाई दुई वर्ष सत्ताका लागि कुरेर बस्नुपर्छ । अहिले नै उत्ताउलो भएर सरकारमा जान हतार गर्नु हुँदैन । अबको दुई वर्षपछि प्रतिनिधि सभाको निर्वाचन हुनेछ । कांग्रेसका नेताहरू सुध्रिए भने कांग्रेस सुध्रिन्छ । होइन भने कांग्रेस बरबाद हुनेछ ।

नेता कार्यकर्तालाई उत्साहित बनाउन कांग्रेसले विशेष ध्यान दिनुपर्छ । गाउँ केन्द्रित आन्दोलन गर्नुपर्छ । सभापति शेरबहादुर देउवाले बालुवाटारमा किन गएको भनेर धेरैलाई जिज्ञासा बनेको छ । देउवा बालुवाटार नै जान नहुने भन्ने छैन । तर, समय र परिस्थितिलाई हेरेर जानुपर्ने थियो । कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले कांग्रेस सरकारमा नजाने बताएका छन् ।

उनले नेकपाले सरकार चलाउन सक्दैन भनेर हात उठायो भने देश र सरकारको नेतृत्व कांग्रेसले लिन सधै तयार भएर बसेको बताएका छन् । उनले २० वटा मन्त्रालय दिए पनि कांग्रेस नेकपा नेतृत्वको सरकारमा नजाने बताएका छन् । सभापति देउवासँगको भेटमा पनि आफूले त्यही सन्देश पाएको उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि सरकारमा जाने कुनै सम्भावना नरहेको बताएका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी र सरकारको आन्तरिक कलहमा नेपाली कांग्रेसको कुनै सरोकार छैन’, उनले भनेका छन्, ‘नेकपा पार्टी फुट्छ र कांग्रेस सरकारमा जान्छ भन्ने भ्रममा हामी पर्न हुन्न । प्रतिपक्षको हैसियतले जनताको आवाज उठाउन कांग्रेस सडकमा जानुपर्छ ।’

कांग्रेसले सरकारमा जाने विषयमा खासै रुचि नदेखाएको नेताहरूको भनाइबाट बुझ्न सकिन्छ । यस्तो अवस्थामा केपी ओली र पुष्पकमल दाहाललाई कुनै पनि फाइदा हुनेछैन । कांग्रेसले नेकपाको आन्तरिक विवादमा अहिले धेरै चासो दिएको छैन । किन भने नेकपा तत्काल फुट्ने सम्भावना छैन ।

Published : Friday, 2020 November 27, 8:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया