कांग्रेस कम्युनिस्ट जस्तो गैरजिम्मेवार बन्दैनः मोहनबहादुर बस्नेत

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले कोरोना महामारीका बेला कम्युनिस्ट सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा कांग्रेसको खेलकुद विभागद्वारा बिहीबार आयोजित रक्तदान कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले बिरामीहरूको उपचारमा रगत अभाव नहोस् भनेर रक्तदान कार्यक्रम गरिएको बताए ।

‘कोरोनाका बेला जनता मर्ने अवस्थामा छन् । चिकित्सकहरूको समेत कोरोनाबाट मृत्यु भएका छन्’, नेता बस्नेतले भने, ‘सरकार उदासीन छ ।’

नेता बस्नेतले कांग्रेसले जनताप्रति जिम्मेवारी बहन गरेको बताए । उनले उपचारमा रगतको अभाव भएको भन्दै बिरामीको उपचारमा कांग्रेसले रक्तदान गरेर सहयोग गरेको बताए ।

कांग्रेसको खेलकुद विभागले देशभरि रक्तदान कार्यक्रम सुरु गरेको छ । ललितपुरबाट सुरु भएको रक्तदान कार्यक्रम देशैभरि हुनेछ ।

‘रगतको अभावबाट बिरामी मर्नुपर्ने अवस्था नहोस् भनेर रक्तदान गरिएको छ’, उनले भनेका छन् ।
नेता बस्नेतले भने, ‘सभापति शेरबहादुर देउवाले सात वटा प्रदेशमा रक्तदान कार्यक्रम गर्न निर्देशन दिनुभएको छ । हामीले पनि सभापतिको निर्देशनलाई पालना गरेका छौँ ।’

Published : Thursday, 2020 November 26, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया