कांग्रेसका कार्यकर्ताहरू कम्युनिस्ट जस्तो निरास छैनन्ः डा.महत

लमही । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले पार्टीका नेता कार्यकर्ताहरू निरास हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

दाङको घोराही र लमहीमा कांग्रेसले आइतबार आयोजना गरेका दुई अलग–अलग कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कांग्रेसको भविश्य उज्वल रहेको बताए । उनले गाउँमा कांग्रेसप्रतिको आकर्षण बढ्दै गएको बताएका हुन् ।

वडादेखि नै मिलेर जाने हो भने कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने सह–महामन्त्री डा.महतले दोहोर्‍याएका छन् । उनले पार्टी नेतृत्वले सबैलाई मिलाएर लैजाने वातावरण निर्माण गर्नुपर्ने बताए ।

डा.महतले स्थानीयस्तरमा कार्यकर्ताहरूमा उत्साह र कांग्रेसप्रतिको जाँगर झन् बढेर गएको बताए । उनले गाउँ, शहर, जिल्ला सबैतिर विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नेहरूको लहरनै चलेको उल्लेख गरे ।

सरकार हरेक क्षेत्रमा असफल भएको डा.महतले बताए । कोरोना महामारीका बेला जनताका लागि स्वास्थ्य र रोजगारीमा ध्यान दिनुपर्ने बेला सत्ताका लागि नेकपाका नेताहरू आफूभित्रै झगडा गरेर बसेको बताए ।

कांग्रेसका सह–महामन्त्री डा.महतले निधन भएका पार्टीका नेताहरूका आफन्तलाई भेटेर समवेदना प्रदान गरेका थिए । दाङको कार्यक्रम सकेर डा.महत कपिलवस्तुको कार्यक्रमका लागि प्रस्थान गरेका छन् ।

Published : Sunday, 2020 November 22, 11:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया