कम्युनिस्टहरू कुटाकुट गरेका छन्, टाउको फुट्यो भने उपचार गर्न कांग्रेसले रगत दिन्छः नेता बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिस्ट सरकारले स्वास्थ्यको विषयलाई ध्यान नदिएको आरोप लगाएका छन् ।

ललितपुरको मंगलबजारमा नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा आइतबार आयोजित रक्तदान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले जनताका आधारभूत विषयहरू पूरा गर्ने कार्यबाट बिमुख भएको बताए ।

‘कोरोनाको महामारी होस्, बाढीपहिरो होस्, अरु किसिमका समस्याहरू हुन्, दैनिक प्रशासन सञ्चालनको कुरा होस् सबै कुरालाई ध्यानमा राखेको छैन’, उनले भने, ‘ महँगी, भ्रष्टाचारका कुरा रोक्न ध्यान दिएको छन ।’

‘सरकार आफू कसरी बलियो हुने र आफ्ना पार्टीका कतिपय नेता कार्यकर्ताहरूलाई कसरी व्यवस्थापन गर्ने, कसरी हुन्छ सरकार आफ्नो अनुकूल बनाइ राख्ने कुरामा मात्रै लागेको छ’, विभागका प्रमुख समेत रहेका कांग्रेस नेता बस्नेतले बताए ।

‘नेकपाभित्र आन्तरिक लडाइँ बढ्न थाल्यो’, उनले भने, ‘वीरगञ्जमा केही दिन अगाडि मान्छे नै मारे, आफ्नै पार्टीभित्रका नेता कार्यकर्ताहरूले अर्को पार्टीभित्रका तत्कालीन माओवादी पक्षलाई एमाले पक्षले हत्या ग¥यो भन्ने किसिमले मुद्धा पनि दर्ता भएको छ ।’

‘चितवनमा नेकपाकै नेताले बोलिरहेको बेलामा निकै घम्साघम्सीको स्थिति हेरिरहेका छौँ’, बस्नेतले भनेका छन् ।

‘कम्युनिस्टहरू अहिले रेस्लिङ गरेर बसेका छन्’, उनले भने, ‘भोलि कोभिड–१९ बाहेक कम्युनिस्टका कार्यकर्ताहरूलाई रगत चाहियो भने पनि अहिले रगत छैन । त्यस कारण हामी कांग्रेसका साथीहरू यति उदार छौँ ।’

‘प्रजातन्त्रवादीहरू यति उदार छौँ । कोरोनाका बिरामी होस्, गैरकोरोनाका बिरामी होस्’, उनले भने, ‘जसलाई रगत चाहिएको छ, रगत दिनका लागि देशव्यापी रुपमा अभियान चलाएका छौँ ।’

‘सरसरती हेर्दा नेकपाका नेता कार्यकर्ताहरूलाई रगत चाहियो भने पनि सहयोग गर्ने चाहना छ । त्यहीअनुसार हामीले कार्यक्रम गरेका छौँ’, नेता बस्नेतले भनेका छन् ।

‘कोभिड–१९ कहिलेसम्म रहन्छ थाहा छैन’, उनले भने, ‘नेपालीलाई चाहिने रगतको अभावमा नेपालमा उपचार गर्ने कसैले पनि मृत्युवरण हुन नपरोस् ।’

नेता बस्नेतले मंसिर ७ गतेदेखि शुरु भएको रक्तदान कार्यक्रम मंसिर १३ गतेसम्म देशभरि जारी रहने बताएका छन् । उनले माग भयो भने दोस्रो चरणमा पनि रक्तदानको कार्यक्रम सञ्चालन गर्ने बताए ।

Published : Sunday, 2020 November 22, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया