कांग्रेसको खेलकुद विभागद्वारा ललितपुरमा रक्तदान, देशभरि अभियानकै रुपमा सञ्चालन (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित ललितपुरबाट देशव्यापी रुपमा रक्तदान कार्यक्रमको शुरुवात गरेको छ ।

ललितपुरको मंगलबजारमा आइतबार बिहान नेपाली कांग्रेस ललितपुरका सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्यको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम गरिएको विभागका सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।

रक्तदान कार्यक्रममा सहभागी भएकाहरूलाई हौसला दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् विभागका प्रमुख मोहनबहादुर बस्नेत आफै उपस्थित भएका थिए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, गोदावरी नगरपालिकाकी उप–मेयर एवम् कांग्रेस नेतृ मुना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

विभागका सचिव महर्जनको समन्वय र अग्रसरतामा आयोजित रक्तदान कार्यक्रमको संयोजन विभाग सदस्य नारायणदेव राणाले गरेका थिए ।

स्वास्थ्यसम्बन्धि मापदण्ड अपनाएर गरिएको रक्तदानमा खेलाडी, प्रशिक्षक, कांग्रेका नेता, युवा, विद्यार्थीलगायतले रक्तदान गरेको विभागका सचिव महर्जनले जानकारी दिएका छन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले जनस्वास्थ्यको सवालमा सरकार उदासीन बन्दै गएको आरोप लगाएका छन् ।

‘कांग्रेस राष्ट्रको जिम्मेवार पार्टी भएकोले जनताप्रति एतिहासिक भूमिका र जिम्मेवारी कायम गर्दै कम्तिमा पनि बिरामीलाई रगतको आपूर्तिमा सम्भव भएसम्म सहयोग पुर्‍याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको छ’, विभागका प्रमुख बस्नेतले भनेका छन् ।

प्रमुख अतिथि नेपाली कांग्रेस ललितपुरका सभापति एवम् पूर्व सांसद अमात्यले देशभरि बिरामीको उपचारमा रगत अभाव भइरहेको अवस्थामा कांग्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम गरेको बताए ।

कांग्रेस राजनीतिक कुरा गर्ने पार्टीमात्र नभई समाजवादलाई शिरोपर्य गर्ने पार्टी भएकाले यस्तो जनसेवाको भावसहित रक्तदान कार्यक्रम गरेकोमा अमात्यले खेलकुद विभागलाई धन्यवाद दिएका छन् ।

रक्तदान कार्यक्रम देशका विभिन्न जिल्लाहरूमा मंसिर १४ गतेसम्म स्वास्थ्य मापदण्डसहित चल्ने विभागका सचिव महर्जनले बताएका छन् ।

‘सरकार जनताको जीवनसँग खेलवाड गरिरहेको छ’, सचिव महर्जनले भने, ‘कांग्रेसका तरुण र विद्यार्थीका साथै खेलाडी र खेलसँग सम्बन्धित व्यक्तिहरू गैरजिम्मेवारी हुन सक्दैनन् । संकटका बेला आफ्नो रगत दिएर बिरामीको जीवन बचाउँछन् ।’

Published : Sunday, 2020 November 22, 4:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया