प्रहरीमा भावी आईजीपी, एआईजी र डीआईजीहरूमा क–कसको सम्भावना ?

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्दै पाँच वटा डीआईजीको दरबन्दी थप्ने निर्णय गरेको हो । सरकारले एआईजीको दरबन्दी पनि थप गरेर स्वीकृत गरेको छ ।

तीन महिनादेखि मन्त्रिपरिषदमा रोकिएको नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएसँगै एआईजी र डीआईजीहरूको दबरबन्दी थपिएको छ ।

ओएनएम पास भएसँगै प्रहरी समायोजन र बढुवाको प्रक्रियाले गति लिनेछ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी कुवेर कडायतले ओएनएम पास भएको जानकारी आएपछि समायोजन प्रक्रिया अघि बढाउने बताएका छन् ।

नेपाल प्रहरीले ठूलो संख्यामा भर्ना आह्वान गरेपछि त्यसविरुद्ध प्रदेश २ सरकार सर्वोच्च अदालतमा पुगिसकेको छ ।

केन्द्रबाट प्रहरी भर्ना रोक्नु पर्ने र अपराध अनुसन्धानको जिम्मा पनि प्रदेशलाई नै दिनुपर्ने प्रदेशको माग छ । मंसिर १० गते उक्त रिटको सुनुवाई हुने मिति तोकिएको छ ।

नेपाल प्रहरीमा प्राविधिक बाहेक २६ जनासम्म डीआइजी छन् । चैतमा २६ डीआइजीको दरबन्दी कटौती गरेर सरकारले १४ मा झारेको थियो ।

राजमार्ग सुरक्षा निर्देशनालय, प्रदेश समन्वय निर्देशनालय, कार्य विभाग, योजना तथा अन्वेषण निर्देशनालय र प्रहरी महानिरीक्षकको सचिवालयमा डीआइजीको दरबन्दी थप भएको छ ।

५ डीआइजी बढुवाका लागि पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, किशोर दाहाल, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला, दिवेश लोहनी, मुकुन्द आचार्य, श्यामलाल ज्ञवाली, सुशील यादव, पूजा सिंह, मोहन आचार्य, नलप्रसाद उपाध्याय, विक्रम चन्द, प्रलिपकुमार श्रेष्ठ, दीपक थापासहितका एसएसपीहरू बढुवाको प्रतिस्पर्धामा छन् ।

हाल नेपाल प्रहरीमा एक प्राविधिकसहित ४ जना एआईजी छन् । अब एआईजीको संख्या ५ पुग्नेछ । प्रशासनतर्फ ३ जना एआईजी छन् ।

एआईजी बढुवा प्रतिष्पर्धाका लागि रानीपोखरीमा रहेका डीआईजी विश्वराज पोखरेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का सहकुलबहादुर थापा र प्रदेश २ प्रहरी प्रमुख धिरजप्रताप सिंह दौडमा छन् ।

आफूभन्दा सिनियरहरूलाई उछिनेर एक्लै डीआईजी बनेका पोखरेललाई एआईजी बन्न त्यति सजिलो भनेछैन । डीआईजी पोखरेलले राजनीतिक शक्तिको आडमा प्रहरीभित्र चेनअफ कमाण्ड भत्काएको आरोप लाग्दै आएको छ । अहिले बढुवा हुने एआईजीबाटै भावी आईआजीपी बन्नेछन् ।

Published : Thursday, 2020 November 19, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया