दवाव थेग्नै नसक्ने अवस्थामा दाहाल, पौडेलको चलखेल तीब्र

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मत्थर हुने अवस्थामा छैन ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनले नेकपाभित्र खैलाबैला बनाएको छ ।

नेकपाको सचिवालय बैठक पुनः बुधबार बस्ने कार्यक्रम छ । ओली समूहले बुधबारको बैठक रोक्न चाहेको छ । दाहाल समूह भने बैठक रोक्नभन्दा पनि बैठकबाटै निकास खोज्नुपर्ने पक्षमा छ ।

ओली समूहले दाहालको राजनीतिक प्रस्तावलाई ‘अभियोग पत्र’को संज्ञा दिँदै आएको छ ।

लाञ्छनाहरू लगाइएको दाहालको प्रतिवेदनलाई फिर्ता गर्न ओली समूहले दवाव दिँदै आएको छ ।

सहमति हुन नसकेका बेला नेकपाका महासचिव विष्णु पौडेलले दोस्रो वरीयताका अध्यक्ष दाहालसँग भेटवार्ता गरेका छन् ।

मंगलबार खुमलटारस्थित निवासमा पौडेलले दाहालसँग भेटवार्ता गरेका हुन् । भेटमा सचिवालयको बैठक स्थगित गरेर सहमति खोज्ने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

दाहाल र पौडेलबीच भएको सम्वादको विषयमा केही भनिएको छैन । पौडेलले ओलीको चाहनाअनुसार बैठक स्थगित गर्नका लागि प्रस्ताव राखेको नेकपाका एक नेताले बताएका छन् ।

नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । दाहालले सचिवालयको बैठकमा पेस गरेको प्रतिवेदनले ओली समूह झन् आक्रोशित बनेको छ । प्रतिवेदनलाई लिएर दाहाल प्रतिरक्षात्मक बनेका छन् । ओली समूह भने आक्रमण देखिएको छ ।

ओलीले आफूलाई आक्षेप लगाउने गरि दाहालद्वारा पेस गरिएको प्रतिवेदनबाट रुष्ट छन् । सो प्रतिवेदनका कारण उत्पन्न परिस्थितिका विषयमा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमसँग अलग–अलग परामर्श गरिसकेका छन् । परामर्श गरे पनि कुरा मिलेको छैन ।

Published : Tuesday, 2020 November 17, 4:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया