निरीह बने ओली, कुर्सी बचाउन पूर्वएमालेका नेताहरूसँग गोप्य छलफल

काठमाडौं । तिहारको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवादले चरम उत्सकर्ष लिएको छ ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर आक्षेपहरू लगाएर अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध मोर्चा खोलेपछि नेकपाभित्र खैलाबैला भएको छ ।

सचिवालयमा बहुमतमा रहेका दाहालका कारण अफ्ठ्यारोमा परेका ओलीले आफ्नो पक्षमा माहोल बनाउन एकल सम्वादहरू गरेका छन् ।

ओलीले आइतबार बालुवाटारमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतसँग छलफल गरेको केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् । ओलीले छलफलहरू गरेपनि अहिलेसम्म सहयोगको आश्वासन पाएका छैनन् । ओली पार्टीभित्र समस्यामा परेका छन् ।

‘पार्टीमा प्रश्न उठेपछि तिनलाई कार्पेटमुनि राखेर होइन, पर्गेलेर अघि बढ्नुपर्छ’, केन्द्रीय सदस्य रिजालले भनेका छन्, ‘यसका लागि विशेषतः अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहालले एकल तथा सामूहिक छलफलहरू गरेर संस्थागत रुपमा निकास निकाल्नुपर्छ ।’

‘पार्टीभित्रका अन्तरविरोधहरू मित्रतापूर्ण अन्तरविरोध भएकाले स्थापित कम्युनिस्ट मान्यता अर्थात् आलोचना–आत्मालोचनाको माध्यमबाट तिनको समाधान खोज्नुपर्छ’, रिजालले फेसबुकमार्फत भनेका छन् ।

‘पार्टीमा यतिबेला समस्या छन्, समाधान पनि छन्’, उनले भने, ‘मनमा भएको मैलो पखाल्नका लागि कमिटीका बैठकबाहेक अरु ठाउँ छैन ।’

‘जसरी मैलो लुगा वासिङ मेसिनमा हालेपछि एकैपटक सफा भएर निस्किन्छ, हामी चाहन्छौँ– बैठकबाट नेताहरू पनि त्यस्तै भएर निस्किनुहोस्’, वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने केन्द्रीय सदस्य रिजालले भनेका छन् ।

‘अगाडि बढ्यौँ भने राजमार्ग छ, पछाडि फर्क्यौं भने भीर छ’, नेकपाका नेता रिजालले ओलीलाई चेतावनी शैलीमा भनेका छन्, ‘याद रहोस् हामी भीरबाट लड्दा राम–राम भन्नेभन्दा रमिता हेर्नेहरूको भीड हुने निश्चित छ ।’

दाहालले सचिवालको बैठकमा पेस गरेको राजनीतिक प्रस्तावले ओलीलाई तनाब भएको छ । सचिवालयमा ओली अल्पमतमा छन् । दाहाल बहुमतमा छन् । सचिवालयको बैठक बस्यो भने दाहालको प्रस्ताव पारित हुने निश्चित जस्तै छ ।

सचिवालयबाट दाहालको प्रस्ताव पारित भयो भने ओलीले प्रधानमन्त्री पद गुमाउनुपर्ने सम्भावना निकै बलियो छ । प्रधानमन्त्री पद बचाउन ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर छलफल गरिसकेको छन् ।

आफ्नो विपक्षमा रहेका पूर्वएमालेका नेताहरूललाई फकाउन ओलीले भरपुर प्रयासहरू गरिरहेका छन् । ओली आइबार साँझसम्म कुनै पनि प्रयासहरूमा सफल भएका छैनन् ।

Published : Sunday, 2020 November 15, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया