ओलीको किचन क्याबिनेभित्र खैलाबैला, कसै–कसैलाई रातभरि निद लागेन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको नेताहरूले बताउन थालेका छन् ।

सचिवालयको बैठकमा दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले एकल प्रस्ताव पेश गरेपछि नेकपाभित्र तरंग उत्पन्न भएको हो । दाहालले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीविरुद्ध संगिन आरोपहरू लगाएर समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

ओली समूहले दाहालको प्रतिवेदनलाई रुचाएको छैन । फिर्ता लिन दवाव दिइरहेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले पार्टी एकताको भावना विपरित ओलीविरुद्ध संगिन आरोपसहित दाहालले एकल प्रस्ताव राखेको आरोप लगाएका छन् ।

‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको छ’, पोखरेलले भनेका छन् ।

‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु’, पोखरेलले शनिबार बिहान फेसबुक स्टाटसमार्फत भनेका छन् ।

शुक्रबार ओलीमाथि विभिन्न आक्षेपहरू लगाउँदै दाहालले बहुमतको निर्णय नमानेको आरोप लगाएका थिए ।

दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीको सोँच कम्युनिस्ट पार्टीको सिद्धान्त र मान्यता विपरित रहेको बताएका थिए ।

ओलीले दाहाललाई लेखेको पत्रमा उनको कार्यकारी भूमिकामाथि प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री ओलीले दाहाललाई लेखेको पत्रमा आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयो भनेर समेत प्रश्न गरेका छन् ।

दाहाललाई सम्बोधन गरिएको पत्र सचिवालयका अन्य सदस्यहरूलाई समेत बोधार्थ पठाइएको छ ।

‘कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा पाउनु भएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयो ?’, ओलीले पत्रमा दाहाललाई प्रश्न गर्दै भनेका छन्, ‘पछिल्लोचोटि १५ दिनभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम कहाँ पुग्यो? त्यसको रोडम्याप के कस्तो बन्यो ?’

नेकपाका स्थायी समिति सदस्य पोखरेल ओलीको किचन क्याबिनेटका विश्वासपात्रका रुपमा चिनिन्छन् । पोखरेलले ओलीमाथि दाहालद्वारा लगाइएका आरोपबाट रातभरि तनाब र छटपटाहट भएको शनिबार लेखिएको फेसबुक स्टाटसले देखाएको छ ।

Published : Saturday, 2020 November 14, 10:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया