ओलीसँग दाहालले प्रधानमन्त्री वा अध्यक्ष पाउलान् ? यीमध्ये कुन नेताको भाग्य खुल्ला ?

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जसलाई साथ दिन्छन् उसकै पल्लाभारि हुनेछ । दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको जस्तो गरेका नेपालले सरकार र नेकपालाई हल्लाएर राखेका छन् । अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग धेरै विमती राख्दै आएका नेपालले उपयुक्त समयको खोजीमा छन् ।

एमाले र माओवादीबीच पार्टी एकीकरण हुने बेला भएको सहमतिलाई माओवादी नेताहरूले कार्यान्वयनको माग गरेका छन् । त्यो भनेको साढे दुई वर्ष ओली प्रधानमन्त्री बन्ने । दाहालले पार्टी चलाउने भन्ने थियो । त्यसपछि दाहाल प्रधानमन्त्री बन्ने र ओलीले पार्टी चलाउने सहमति भएको थियो । त्यो सहमतिलाई ओलीले उल्लंघन गरेको माआवादी पक्षको आरोप छ ।

ओलीको कार्यकाल तीन वर्ष पुग्न थालेको छ । साढे दुई वर्षमा प्रधानमन्त्री पद ओलीले छाडेपछि प्रधानमन्त्री बन्ने दाउमा रहेका दाहाललाई अहिले आएर पार्टी एकीकरण गरेर पछुतो गरेकी भन्ने भएको हुन सक्छ । दाहालले आफ्ना हरेक अभिव्यक्तिमा विगतको सहमति कार्यान्वयनको कुरा उठाउँदै आएका छन् । त्यो भनेको ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफूलाई बाटो छाडिदिनुपर्ने हो ।

ओली प्रधानमन्त्री बनेदेखि नै दाहालले सरकारलाई असहयोग गर्दै आएको आरोप छ । यस्तो अवस्थामा ओलीले दाहाललाई सहज रुपमा सरकारको नेतृत्व दिन्छन् भन्ने छैन । ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था भयो भने दाहाललाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न दिनेछैनन् । त्यस्तो अवस्थामा ओलीले माधवकुमार नेपाल वा अन्य नेताहरूलाई प्रधानमन्त्री बनाउन सक्छन् । दाहाललाई ओलीको यो कुरा पनि राम्रोसँग थाहा छ ।

ओलीका हरेक गतिविधि र रणनीति थाहा हुँदा हुँदै पनि दाहाललाई कठोर कदम उठाउन पनि समस्या छ । दाहालले कुनै कठोर कदम उठाए भने नेता नेपालले साथ दिने छैनन् । नेता नेपालको विश्वास नभएकै कारण दाहालले नेकपामा कठोर कदम उठाउन सकेका छैनन् । नेपाललाई साथमा लिएर दाहालले ओलीसँग बार्गेनिङ गर्दै आएको आरोप नेकपाकै नेताहरूको छ ।

बोलिचाली र निर्णयमा दाहाल कार्यकारी अध्यक्ष भनिने गरेका छन् । बास्तवमा दाहाललाई नेकपामा कुनै पनि अधिकार छैन । स्थायी समितिबाट कार्यकारी अध्यक्षको अधिकार पाएका दाहालले सचिवालयको बैठक बोलाउने हैसियतमा छैनन् । दाहालले बोलाएको सचिवालय बैठकलाई ओलीले तुहाइदिएका छन् । सचिवालयमा दाहाल बहुमतमा छन् । ओलीले असहयोग गर्दा दाहालले कार्यकारी अधिकार हुँदा पनि सचिवालयको बैठक बसाल्न सक्दैनन् ।

नेकपामा दाहाल कति निरिह छन् भन्ने उदाहरण पछिल्ला गतिविधिहरूले स्पष्ट भइसकेको छ । यो कार्यकालभरि दाहालले प्रधानमन्त्री वा पार्टी अध्यक्ष भएर काम गर्ने अवस्था छैन । दाहाललाई अधिकार जाने भयो भने ओलीले नेता नेपाल वा अन्य नेताहरूलाई अगाडि सार्नेछन् । दाहाललाई कुनै पनि अधिकार नदिने नेकपाका नेताहरूको बुझाइ छ ।

Published : Friday, 2020 November 13, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया