सभापतिका लागि कांग्रेसभित्र कसैको नजर नपरेका यी शक्तिशाली नेता, किन मौन ?

काठमाडौं । नेपाली कांग्रेसमा आधा दर्जनभन्दा धेरै नेताहरूले सभापतिमा उम्मेदवार दिने भनेर घोषणा गरेका छन् । १४औँ महाधिवेशन कोरोना महामारीका कारण समयमा हुने अवस्था नभइरहेका बेला कांग्रेसका नेताहरूले सभापतिमा धमाधम दाबी गरिरहेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिने भनेर औपचारिक रुपमा भनेका छैनन् । शेरबहादुर देउवाले पनि औपचारिक रुपमा सभापतिमा उम्मेदवारी दिने भनेर मुख खोलेका छैनन् ।

देउवा र पौडेलले सभापतिका लागि मुख नखोले पनि उनीहरू प्रतिस्पर्धामा उत्रिने धेरैको अनुमान छ । अर्को समीकरण भएन भने अन्तिममा देउवा र पौडेलबीच प्रतिस्पर्धा हुन्छ कि भन्नेहरू छन् । कांग्रेसको सभापतिमा उम्मेदवार बन्छु भनेर उम्मेदवारी घोषणा गरेका केही नेताहरूले जिल्ला सभापति समेत जित्छन् वा जित्दैनन् थाहा छैन । तर, केन्द्रीय सभापतिमा उम्मेदवार बन्ने भनेर कार्यकर्ताहरूलाई मनोरञ्जन दिइरहेका छन् ।

देउवा र पौडेल सभापतिमा उम्मेदवार बनेनन् भने विमलेन्द्र निधि, डा.शशांक कोइराला र प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने संकेत देखिएको नेताहरू बताउँछन् । यस्तो अवस्था सिर्जना भयो भने देउवाले डा.कोइरालालाई साथ दिन सक्ने धेरैको अनुमान छ । देउवाले निधिलाई साथ दिने छैनन् । निधिकै कारण देउवा समस्यामा परेका छन् । डा.कोइरालाका कारण पौडेल तनाबमा छन् । नेता सिंहको काठमाडौं उपत्यकाभित्र मात्रै बर्चश्व रहेको चर्चा छ । उपत्यका बाहिर सिंहको प्रभाव छैन ।

यस्तो अवस्थामा बीचबाट सभापतिको नयाँ उम्मेदवार बन्ने सम्भावना पनि छ । महामन्त्री पूर्णबहादुर खड्काले आफ्नो पत्ता खोलेका छैनन् । सभापति देउवालाई सबैभन्दा धेरै सहयोग गर्नेमा खड्का छन् । निधिले बानेश्वरबाट आफ्नो गुट चलाइरहेका बेला महामन्त्री खड्काले नै सभापति देउवालाई साथ दिइरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलका माग हुन् वा पार्टीभित्र देखिने विवाद सबै समाधान महामन्त्री खड्काले गर्दै आएका छन् । खड्काले पछिल्लो समय देउवाको विश्वास जितेका छन् ।

मिडियामा आउन नचाहने खड्कालाई कांग्रेसभित्र धेरै नबोल्न नेताका रुपमा लिन्छन् । खड्काले १४औँ महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्ने कुरामा पनि बोलेका छैनन् । खड्कालाई नजिकबाट जान्ने र बुझ्ने नेताहरूले सभापतिमा उम्मेदवार बन्न सक्ने बताउँछन् । देउवा समूहबाट धेरै विवाद भएर समस्या भयो भने खड्का बीचबाट उभिएर सभापति बन्ने सम्भावना धेरै छ ।

कांग्रेसको प्रशासनिक र सांगठनिक होस् वा केन्द्रीय कार्यसमितिका बैठकहरूमा पेश हुने राजनीतिक दस्तावेजहरू सबै महामन्त्री खड्काले लेख्ने गरेका छन् । महामन्त्री डा.कोइरालाले पनि खड्कालाई विश्वास गर्छन् । सोही कारण पनि खड्काले अन्तिम समयमा सभापति पदमा उम्मेदवारी दिएर जान सक्ने सम्भावनालाई नेताहरू नर्कान सकेका छैनन् ।

कांग्रेसले १४औँ महाधिवेशनलाई कसरी उपयोग गर्छ हेर्न बाँकी छ । नेताहरू भने नेतृत्व हत्याउने तिकडमा छन् । उप–सभपाति, महामन्त्री र सह–महामन्त्रीमा पनि धेरै नेताहरूको दाबी छ । अहिलेको संरचनालाई जस्ताको त्यस्तै राखेर १४औँ महाधिवेशन गर्ने हो भने जितेर आउने सभापतिले पार्टी चलाउन ठूलो संकट झेल्नुपर्ने छ । नेताहरूका बीच सहमति भयो भने विधानलाई संशोधन गरेर सभापतिलाई बलियो बनाउने गरेर विधान बनाउनुपर्छ । होइन भने जसले जितेर आएपनि कांग्रेस झन् भताभुङ्ग हुन्छ कि भनेर धेरैका चिन्ता छ ।

Published : Friday, 2020 November 13, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया