कांग्रेसका पूर्वसांसदको निधन, खाँणद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पूर्वसांसद ओमकारप्रसाद गौचनको उपचारका क्रममा निधनबाट स्तब्ध भएको जनाएका छन् ।

गौचनको ८५ वर्षको उमेरमा कात्तिक २६ गते निधन भएको थियो । गौचनको निधनप्रति कांग्रेसले दुःख व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

गौचन पूर्व राज्यमन्त्री हुन् । नेपालमा भएका लोकतान्त्रिक आन्दोलनहरू र पार्टी संगठन, विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खाँणले गौचनको योगदानको स्मरण गरेका छन् ।

स्व.गौचन विक्रम संवत २०४८ सालमा बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित भएका थिए ।

राजनीतिसँगै सामाजिक एवं विकासका कार्यहरूमा समेत सक्रिय रहेका स्व.गौचन लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष समेत हुन् ।

उनले बाग्लुङ्ग जिल्लाको समग्र विकासका साथै शैक्षिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका थिए ।

‘शालिन एवं भद्र राजनीतिज्ञ, समाजसेवी र विकासप्रेमीको रुपमा परिचित नेता गौचनको निधनले नेपाली कांग्रेस तथा सामाजिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ’, कांग्रेसका प्रमुख सचेतक खाँणले भनेका छन् ।

‘नेता गौचनको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना साथै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, खाँणले भनेका छन्, ‘शोकको यस घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’

Published : Thursday, 2020 November 12, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया