ओलीद्वारा पूर्वएमालेका चार ठूला नेताहरूसँग परामर्श, ‘काला जुँगा’का कुरा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओलीले पूर्वएमालेका चार ठूला नेताहरूसँग परामर्श गरेका छन् ।

आइतबार बालुवाटारमा भएको छलफलमा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानमा सहयोग गर्न वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गरेका छन् । नेता नेपालले विगतमा पनि आफूले सहयोग गरेको भन्दै ओलीलाई सुध्रिन सुझाव दिएका छन् ।

ओलीले नेता नेपाललाई परामर्शका लागि एक्लै आउन भनेका थिए । तर, नेता नेपालले आफू निकटका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई साथमा लिएर बालुवाटार गएका थिए ।

नेकपाभित्रको विवादका विषयमा परामर्श भएको एक नेताले बताए । प्रधानमन्त्री ओलीले मिर्गौलाको दोस्रो पटक शल्यक्रिया भएपछि आछ्यु आउन छाडेको, रोगले पनि नछोएको, जुँगाहरूपनि कालो भएर आउन थालेको भन्दै आफ्ना अनुभवहरू नेता नेपाललाई सुनाएका थिए ।

नेकपाको विवाद चरम उत्कर्षमा पुगेपछि ओलीले समस्या समाधानका लागि नेता नेपालको सहयोग खोजेका छन् । नेता नेपालले विगतका सहमति कार्यान्वयन गर्नुपर्ने ओलीलाई बताएका छन् ।

मदन भण्डारी फाउण्डेशनका गतिविधिहरू रोक्न नेपालले ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले फाउण्डेशनका गतिविधिहरू नरोकिने जवाफ दिएका छन् ।

मदन भण्डारी फाउण्डेशनका नाममा ओली समूहले ‘जनताको बहुदलीय जनवाद’लाई बहसमा ल्याएको छ । जबज बहसमा ल्याएको कुरा नेता नेपाल र प्रचण्ड समूहलाई मन परेको छैन ।

प्रचण्डले २१औँ शताब्दीको बहुदलीय जनवादलाई अगाडि बढाउन खोजेका छन् । यी दुबै राजनीतिक कार्यदिशालाई महाधिवेशनमा लगेर टुङ्गो लगाउने सहमति भएको थियो ।

Published : Sunday, 2020 November 8, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया