ओलीसामु यस कारण निरिह बनेर खुम्चिए दाहाल, यस्ताे थियाे बालुवाटारकाे धम्की

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली संसदीय दलमा एक्लै शक्तिशाली देखिएका छन् ।

संसदीय दलमा कमजोर भएकै कारण दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले नेकपा फुटाउन हिम्मत गरेनन् । ओलीको दवाव र हेपाहा प्रवृत्ति सहेर दाहाल नेकपामा बस्न बाध्य छन् ।

दाहाल नेकपाभित्र दाह्रा, नंग्रा निकालेको काम नलाग्ने पिजडाको ‘बाघ’ जस्तै बनेर बसेका छन् ।
हुन त दाहालले पूर्वमालेका नेता माधवकुमार नेपाललाई साथमा लिएका छन् । नेता नेपालले दाहाललाई अन्तिमसम्म साथ दिन्छन् भन्ने कुनै टुंगो छैन ।

पार्टी फुट्ने अवस्था आयो भने वरिष्ठ नेता नेपालले दाहाललाई अध्यक्ष मानेर जाँदैनन् । अन्तिममा नेता नेपालले ओलीलाई नै साथ दिने पूर्वएमालेका नेताहरूको बुझाइ छ ।

दाहाल र नेपाल मिल्ने हो भने संसदीय दल र पार्टी दुबैमा बहुमतमा छन् । ओली अल्पमतमा छन् । ओलीले यो कुरा राम्रोसँग बुझेका छन् । ओलीले दाहाल र नेपालको समीकरण रहन दिनेछैनन् ।

ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर संसदीय दलको नेता र प्रधानमन्त्रीबाट हटाउने हिम्मत दाहालसँग छैन । नेता नेपालको विश्वास नभएकै कारण दाहालले नेकपा फुटाउने जोखिम लिएका होइनन् ।

संवैधानिक व्यवस्थाअनुसार पार्टी फुटाउन संसदीय दल र केन्द्रीय समितिमा कम्तिमा पनि ४० प्रतिशत पुर्‍याउनुपर्छ । दाहाललाई पार्टी फुटाएर माओवादी ब्युताउन संवैधानिक समस्या पनि परेको छ ।

प्रतिनिधि सभामा नेकपाका १७४ सांसद छन् । त्यसमध्ये सभामुखले मतदान गर्न पाउँदैनन् । दाहालले अविश्वासको प्रस्ताव ल्याइहालेमा ओलीलाई कुर्सी बचाउन ८७ सांसदको साथ भए पुग्छ । ओलीसँग एक्लै अहिले पनि ७६ सांसद छन् । बाँकी सांसद पुर्‍याउन ओलीका लागि खासै ठूलो कुरा छैन ।

पूर्वमाओवादीका ५५ जना सांसद हुन् । ती पनि केही सांसद ओलीतिर लागिसकेका छन् । नेता नेपालसँग ४३ जना सांसद रहेको दाबी गरिएको छ ।

ओलीलाई पार्टीभित्र अविश्वासको प्रस्तावको सामना गर्न कुनै कठिनाइ छैन । ओली संसदीय दलमा एक्लै बलियो भएको देखेपछि दाहाल खुम्चिएर बसेका छन् ।

बिगतमा भैंसेपाटी गठबन्धन गरेका दाहालले ओलीसँग सुटुक्क सहमति गरेर पार्टी एकलौटी रुपमा चलाउन कार्यकारी अध्यक्ष बनेका थिए । सो प्रस्ताव स्थायी समितिबाट पारित भएको थियो । निर्णय पारित भएपनि कार्यान्वयन भएको छैन ।

त्यस बेला दाहालले ओलीसँग आफूलाई धोका दिएर सुटुक्क सहमति गरेको भन्दै नेता नेपाल रिसाएका थिए । ओलीको पेलान रोक्न दाहाल निकट भएपनि नेता नेपालले दाहाललाई कुनै पनि हालतमा पार्टी विभाजन गर्न साथ दिनेछैनन् । नेपालले अन्तिममा साथ दिने भनेको ओलीलाई नै हो ।

नेता नेपालले दाहाललाई प्रयोग गरेर नेकपामा आफ्नो बर्चश्व कायम राखेका छन् । बाहिरबाट हेर्दा दाहालले नेता नेपाललाई प्रयोग गरेको जस्तो देखिए पनि बास्तवमा नेता नेपालले दाहाललाई प्रयोग गरेर आफ्नो गुटको रक्षा गरिरहेका छन् । दाहाल नेता नेपालको साथ पाएको छु भनेर भ्रममा रहेको नेकपाका एक नेताको भनाइ छ ।

कर्णाली प्रदेशको विवादले यस पटक नेकपाभित्र ठूलै उथल–पुथल ल्याइदिएको छ । अविश्वास प्रकरणसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओली निकटका प्रमुख सचेतक हटाएर अर्को नेतालाई प्रमुख सचेतक बनाएपछि विवादले उग्ररुप लिएको थियो ।

त्यति मात्रै होइन मुख्यमन्त्री शाहीले ओली निकटका दुई मन्त्री हटाएर नेता नेपाल निकटका सांसदलाई मन्त्री बनाउने तयारी गरेका थिए ।

ओलीले कर्णाली प्रदेशमा दुई मन्त्री हटाइए केन्द्रमा पनि पूर्वमाओवादीका दुई मन्त्री हटाएर आफ्ना सांसदलाई मन्त्री बनाउने चेतावनी दिएका थिए । त्यसपछि दोस्रो वरीयताका अध्यक्ष दाहाल खुम्चिएका हुन् । दाहालकै निर्देशनमा शाहीले मन्त्रिमण्डल विस्तारको कुरालाई रोकेका थिए ।

ओलीले आफू निकटका गुलाबजंग शाहलाई प्रमुख सचेतकबाट हटाएको मन पाराएका छैनन् । शाहलाई प्रमुख सचेतक नबनाए प्रतिनिधि सभाका प्रमुख सचेतक देव गुरुङलाई पनि हटाउने तयारीमा बालुवाटार पुगेको स्रोतको भनाइ छ । नेकपामा चाहे जे भए पनि ओली शक्तिशाली छन् ।

दाहालले जति नै चुरिफुरी गरे पनि नेकपामा अल्पमतमा छन् । तत्काल नेकपामा दाहालको केही नचल्ने नेताहरूको भनाइ छ ।

Published : Wednesday, 2020 November 4, 8:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया