सभामुखका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बस्नेतद्वारा भव्य स्वागत

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस बाह्रबिसे नगरपालिका नगर कार्यसमितिले शनिबार आयोजना गरेको दशैँको शुभकामना आदनप्रदान कार्यक्रममा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी प्रवेश गराएका थिए ।

नेता बस्नेतले झुठको खेती गर्ने नेकपा छाडेर कांग्रेस प्रवेश गरेका नवप्रवेशी साथीहरूलाई पार्टीले संरक्षण गर्ने आश्वासन दिएका छन् ।

‘कांग्रेस भनेको पार्टी कम्युनिस्टले जस्तो झुठ बोल्न जानेको छैन । जे बोल्छ त्यो गर्छ । जनताको सेवा गर्छ’, पूर्वमन्त्री बस्नेतले भने, ‘नेकपा जस्तो झुठको खेती गर्ने पार्टी कांग्रेस होइन ।’

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले नवप्रवेशी नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका थिए । सभापति बस्नेतले विधि र विधानको धरातलमा बसेर कांग्रेसले सधौ जनताको सेवा गर्दै आएको बताए ।

नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा तत्कालीन माओवादीबाट प्रतिनिधि सभामा निर्वाचित सभामुख अग्निप्रसाद सापकोटाका नेता तथा कार्यकर्ता हुन् ।

कांग्रेस प्रवेश गरेका उनीहरू सभामुख हुँदा पनि सापकोटाले सिन्धुपाल्चोकका जनताको आधारभूत काम गर्न नसकेको आरोप समेत लगाएको सभापति बस्नेतले बताए ।

Published : Sunday, 2020 October 18, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया