कांग्रेसद्वारा नेकपाको कार्यक्रम बहिस्कार, कालो झण्डा प्रदर्शन

बुटवल । नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा सारेको विरोधमा नेकपाका प्रदेश सांसदलाई कालो झण्डा देखाएर प्रदर्शन गरेको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न आएका नेकपाका प्रदेश सांसद तुलसीप्रसाद चौधरीलाई कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले शनिबार कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् ।

गाउँपालिकाको भवन उद्घाटन गर्न लुम्बिनी प्रदेशका पर्यटनमन्त्री लीला गिरी आउने कार्यक्रम थियो ।

कांग्रेसले विरोध गर्ने सूचना पाएपछि मन्त्री गिरी कार्यक्रममा अनुपस्थित भएका थिए । त्यसपछि नेकपाका प्रदेश सांसद चौधरीलाई भवन उद्घाटन गर्न पठाइएको थियो ।

कांग्रेसले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको पक्षमा मतदान गरेको विरोधमा कालो झण्डा प्रदर्शन गरिएको जनाएको छ ।

कांग्रेसका निर्वाचित जनप्रतिनिधिहरूले भवन उद्घाटन कार्यक्रम बहिस्कार समेत गरेका छन् । (तस्वीर साैजन्य नागरिक अनलाइन)

Published : Saturday, 2020 October 17, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया