अन्तरघात गर्ने कांग्रेस निकटका पाँच अधिवक्ताहरूलाई कारबाही

काठमाडौं । नेपाल बार एसोसिएसनको चुनावमा अन्तरघात गरेको आरोपमा नेपाली कांग्रेस निकटको डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले पाँच जना अधिवक्ताहरूलाई कारबाही गरेको छ ।

डीएलएले बारको निर्वाचनमा आफ्नो संगठनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै तीन वरिष्ठ अधिवक्तासहित ५ जनालाई कारबाही गरेको हो ।

डीएलएले बिहीबार नेपाल बारका दुई पूर्वअध्यक्षसहित ५ जनालाई कारबाही गरेको जनाएको छ ।

२०७५ चैतमा सम्पन्न निर्वाचनमा डीएलएका उम्मेदवार सुनीलकुमार पोखरेल पराजित भएका थिए ।

पोखरेललाई कम्युनिस्टबाट अध्यक्षमा उम्मेदवारी दिएका चण्डेश्वर श्रेष्ठले हराएका थिए ।

डीएलएले बारका पूर्वअध्यक्षमा हरिहर दाहाल, प्रेमबहादुर खड्का, डीएलएका पूर्वअध्यक्ष यदुनाथ खनाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

बारका पूर्वमहासचिव विजय मिश्र र काठमाडौं बारका पूर्वअध्यक्ष सीताराम दवाडीलाई पनि कारबाही गरिएको छ ।

डीएलएको अनुशासन समितिले भदौ ३ गते ५ जनालाई स्पष्टीकरण सोधेको थियो । पाँच जनाले स्पष्टीकरणको जवाफ दिएका थिएनन् ।

स्पष्टीकरणको जवाफ नआएपछि डीएलएले उनीहरूलाई कारबाही गरेको एक जना सदस्यले जनाएका छन् ।

Published : Saturday, 2020 October 17, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया