सर्लाहीमा कांग्रेसको प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

मलंगवा । सर्लाही जिल्लामा महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानविनको माग गरेर गरिएको नेपाली कांग्रेसको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।

रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानबिनको माग गर्दै बुधबार नेपाली कांग्रेस सर्लाहीले मलंगवामा प्रदर्शन गरेको थियो । कांग्रेसको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनमा प्रतिनिधिसभा सांसद अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश २ का प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायतका नेताहरू सहभागी थिए ।

नेपाली कांग्रेसले मलंगवाको मलंगवा पब्लिक मावि अगाडिबाट प्रदर्शन शुरु गरेको थियो ।

हत्याको छानबिन र उजुरी लिन माग गर्दै शान्तिपूर्ण प्रदर्शन जिल्ला प्रहरी कार्यालयअघि पुगेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठी चार्ज गरेको सांसद डा.अमरेशकुमार सिंहले जानकारी दिएका छन् ।

कांग्रेसको प्रदर्शनमा प्रहरीले सयौं राउण्ड हवाइ फायर गरेको डा.सिंहले बताएका छन् । प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

सर्लाहीका एसपी सन्तोषसिंह राठौरले कांग्रेसको प्रदर्शन रोक्न चेतावनी दिएका थिए । प्रदर्शन नरोके सांसद डा.अमरेशकुमार सिंहसहितका नेताहरूलाई हतकडी लगाएर थुन्ने धम्की दिए थिए ।


नेपाली कांग्रेसले घटनाका दोषीलाई कारबाही तथा मृतक रामलाई शहीद घोषणाको माग गर्दै आएको छ ।

नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न देखिएका विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद वर्माले नेकपा कार्यकर्ताले रामको हत्या गरेको दाबी गरेका छन् । नेकपामा प्रवेश गर्न नमानेका कारण हत्या भएको कांग्रेसको आरोप छ ।

रामनगर–७ सिसौट बस्ने राममाथि गत २१ गते बेलुका आफ्नो घरअघि बसिरहेको बेला १२–१५ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले धारिलो हतियारले आक्रमण गरेका थिए ।

रामको निधनपछि शव परीक्षणका लागि सर्लाहीस्थित मलंगलवा अस्पतालमा परिवारले ल्याउन खोजेका थिए ।

प्रहरीले दबाब दिएर वीरगञ्जस्थित नारायणी अस्पतालमा राखेको कांग्रेसको आरोप छ ।

Published : Wednesday, 2020 October 14, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया