ओलीसमक्ष बिन्ती बिसाउन बालुवाटार पुगे दाहाल

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमा भेटेका छन् ।

बुधबार बिहान भएको भेटवार्तामा ओली र दाहालबीच कर्णाली प्रदेशको विवादका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पूर्वएमालेका नेताहरूले अविश्वासको प्रस्ताव दर्ता गराएपछि दाहाललाई तनाब भएको थियो ।

कर्णाली प्रदेशको विवाद तत्कालका लागि मिलेको नेताहरूले दाबी गरेका छन् । दाहालले शाहीलाई कुनै पनि हालतमा हटाउन नपाइने अडान लिएपछि ओलीले विद्रोह गरेका नेताहरूलाई काठमाडौंमा समेत बोलाएका छन् ।

नेकपाको केन्द्रको विवाद प्रदेशमा प्रवेश गरेपछि नेकपाका दोस्रो वरीयताका अध्यक्ष दाहाललाई सबैभन्दा धेरै तनाब भएको थियो ।

ओली र दाहालका बीच नयाँ मन्त्रीहरू बनाउने विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ । दाहालले ओलीलाई नयाँ मन्त्रीको नाम दिएको दाबी गरिएको छ । तर, ओलीले सल्लाह गरेर एक–दुई दिनमा निर्णय लिने आश्वासन दिएको स्रोतले उल्लेख गरेको छ ।

Published : Wednesday, 2020 October 14, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया