पूर्वमाओवादी फाल्न पूर्वएमाले मैदानमा, मुख्यमन्त्रीको कुर्सी हल्लियो

वीरेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद कर्णाली प्रदेशमा छताछुल्ल भएको छ । पूर्वएमाले निकटका प्रदेश सांसदद्वारा पूर्वमाओवादी निकटका सांसद अर्थात मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको छ ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध नेकपाका प्रदेश सांसदहरूले आविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

नेकपामा १८ जना सांसदले शाहीलाई मुख्यमन्त्री पदबाट हटाउन संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । शाही पूर्वमाओवादी निकटका हुन् । शाही पुष्पकमल दाहालका निकटका मानिन्छन् ।

मुख्यमन्त्रीका दाबेदार रहेका पूर्वएमाले नेता यमलाल कँडेल र मुख्यमन्त्री शाहीबीच शुरूदेखि नै विवाद थियो । कर्णाली प्रदेश सभा नेकपामा ३३ जना सांसद छन्।

अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले नेकपा संसदीय दलका नेता मुख्यमन्त्री शाहीको सरकारले प्रभावकारी काम गर्न नसकेकाले जनस्तरमा पार्टीको उपस्थिति फितलो भएको बताएका छन् ।

हस्ताक्षर गर्नेहरूमा यमलाल कँडेल, चन्द्रबहादुर शाही, करबीर शाही, कुर्मराज शाही, अम्मरबहादुर थापा, मीना सिंह, दान सिंह, पदमबहादुर रोकाय, पदम खड्का, कौसिलावती खत्री, पुष्प घर्ती विष्ट, राजु नेपाली, धर्मराज रेग्मी, खड्कबहादुर खत्री, अम्मरबहादुर विष्ट, बहमी बोहरा, देवी ओली रहेका छन् ।

Published : Sunday, 2020 October 11, 3:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया