ब्लकको अनुमति लिएर नेकपाका नेताद्वारा क्रसरको अबैध कारोबार, जलजलाको एक्सनपछि खैलाबैला

कुश्मा । पर्वत जिल्लाको जलजला गाउँपालिकामा ब्लक उद्योग सञ्चालन गर्ने अनुमति लिएर क्रसर उद्योग सञ्चालन गर्दै आएको ‘बागेश्वरी एग्रिगेट एण्ड ब्लक उद्योग’लाई बन्द गर्न सूचना जारी गरेको छ।

बागवीर घर्ती क्षेत्रीले ‘बागेश्वरी एग्रिगेट एण्ड ब्लक उद्योग’लाई लामो समयदेखि विना अनुमति जलजला गाउँपालिका–७ मिलनचोकमा सञ्चालन गर्दै आएका थिए । ब्लक उद्योगको अनुमति लिएर क्रसर उद्योग सञ्चालन गरेको भन्दै गाउँपालिकाले असोज ४ गतेदेखि बन्द गर्न आदेश दिएको छ।

तर, ब्लक उद्योगका सञ्चालक शिवबहादुर घर्ती क्षेत्रीले उद्योग कुनै पनि हालतमा बन्द नगर्ने बताएका छन्। ‘मेरो मात्रै होइन कांग्रेस र नेकपाका नेता तथा व्यवसायीहरूले सञ्चालन गरेको देशभरिका क्रसर उद्योगहरू अबैध छन्। मेरो जस्तै हो’, उनले भने, ‘मैले उद्योग बन्द गर्दैन । एग्रिगेट र क्रसरको बुझाइमा भिन्नता छ।’

तपाईले ब्लक उद्योग सञ्चालन गर्न अनुमति लिएर क्रसर उद्योग चलाएर कारोबार गर्न त पाइएन नि? भन्ने जिज्ञासामा घर्तीले भने, ‘एग्रिगेट भनेको पनि गिट्टी हो। क्रसर भनेको पनि गिट्टी हो। बुझाइमा फरक भयो। देशभरि सञ्चालनमा रहेका क्रसरहरू पनि एग्रिगेटमा दर्ता छन्।’

ब्लक उद्योगको अनुमति लिएर जबरजस्ती सत्ता र शक्तिको आडमा क्रसरको कारोबार र उद्योग चलाएको आरोप लागेका घर्तीले आफू नेकपाको स्थानीय नेता भएका कारण राजनीतिक प्रतिशोधका कारण उद्योग बन्द गर्न सूचना जारी भएको दाबी गरे।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सूचना जारी गरेर ब्लक उद्योगलाई बन्द गर्न निर्देशन दिएपछि पर्वत जिल्लामा खैलाबैला भएको छ।

नेकपा जलजला गाउँपालिका कमिटीले घुुमाउरो भाषामा विज्ञप्ति जारी गरेर ब्लक उद्योग सञ्चालनको अनुमित लिएर अबैध रुपमा जबरजस्ती क्रसर उद्योग सञ्चालन गर्दै आएका घर्तीको पक्षमा बोलेको छ। अबैध रुपमा सञ्चालित क्रसरलाई कारबाही अगाडि बढेपछि नेकपाको जलजला गाउँ कमिटीलाई तनाब भएको छ।

जलजला गाउँपालिकाले यही असोज ४ गते आइतबारदेखि पूर्ण रूपमा बन्द गर्न सूचना टाँस गरेको छ ।

उद्योग व्यवसाय दर्ता र नियमन सम्बन्धी प्रचलित संघीय, प्रादेशिक र स्थानीय नीति नियम, अदालत र अख्यितारको निर्देशन, सरोकारवालाको सुझाव, माग, दबाब र कार्यपालिकाको निर्णयअनुसार उद्योग बन्द गर्नुपरेको गाउँपालिकाको सूचनामा उल्लेख छ।

सञ्चालकले ब्लक उद्योगको मात्रै अनुमति लिएर अटेर गरेर क्रसर उद्योग सञ्चालन गरेकाले ‘बागेश्वरी गग्रिगेट एण्ड ब्लक उद्योग’लाई बन्द गर्न आदेश दिइएको सूचनामा उल्लेख छ।

गाउँपालिकाले आवस्यक कानूनी प्रक्रिया पूरा गर्न ब्लक उद्योगलाई पटक–पटक निर्देशन दिएको थियो । तर, ब्लक उद्योगका सञ्चालक घर्तीले गाउँपालिकाको आदेश र निर्देशनलाई पालना नगरेपछि बाध्य भएर उद्योग बन्द गर्न सूचनानै जारी गर्नुपरेको मल्लले बताएका छन्।

‘गाउँपालिकाले कानूनी प्रक्रिया पुर्‍याएर सञ्चालन गर्न प्रयाप्त मौका दिँदासमेत अटेर गरि उद्योग सञ्चालन गरेपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को (ञ)६ को अधिकार प्रयोग गरी उद्योग बन्द गरिएको हो’, अध्यक्ष मल्लद्वारा जारी सूचनामा उल्लेख छ।

ब्लक उद्योग सञ्चालन गर्न अनुमति लिएर अवैध रूपमा क्रसर उद्योग सञ्चालन भएपछि जलजला गाउँपालिकाले ‘बागेश्वरी गग्रिगेट एण्ड ब्लक उद्योग’लाई बन्द गराउन जिल्ला प्रशासन कार्यालय पर्वत, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेपनि कुनै सहयोग नभएको गुनासो छ।

पर्वतका प्रमुख जिल्ला अधिकारी शभ्भुप्रसाद रेग्मीले गाउँपालिकाले लिखित रुपमा मागेको सुरक्षा आफूले दिएको बताए। ‘क्रसर उद्योगहरू दर्ता र कारबाही लगायतको सबै प्रक्रिया गर्ने अधिकार गाउँपालिकालाई छ’, उनले भने, ‘गाउँपालिकाले लिखित रुपमा शान्ति सुरक्षाको माग गर्नुभयो। हामीले पनि प्रहरी पठाएर सुरक्षा दिएका छौँ।’

प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘मैले नै कालीगण्डकीमा भएका अबैध उत्खनन रोक्न सशस्त्र प्रहरी परिचालन गरेको हुँ। गाउँपालिका र नगरपालिकाका प्रमुखहरूलाई बोलाएर अबैध क्रसरलाई बैद्य बनाउन र राजश्व उठाउन आग्रह गरेको हुँ। अबैध छन् भने कारबाही गर्न भनेको हुँ। मेरो अनुरोधलाई गाउँपालिका र नगरपालिकाका प्रमुखहरूले मान्नुभएको छ।’

प्रमुख जिल्ला अधिकारी रेग्मीले आवश्यक पुर्‍यो भने गाउँपालिकाको अनुरोध भयो भने अवैध गतिविधि रोक्न सबै सहयोग गर्ने बताएका छन्। उनले अबैध गतिविधिमा चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख एवम् डीएसपी विश्वराज अधिकारीले जलजला गाउँपालिकाको मागअनुसार ब्लक उद्योगमा बन्द गर्नका लागि सूचना टाँस गर्न जाने बेला प्रहरी पठाएर शान्ति सुरक्षा दिएको बताए । ‘हामीले शान्ति सुरक्षा दिने हो’, डीएसपी अधिकारीले भने, ‘गाउँपालिकालाई सहयोग गरेका छौँ। अबैध काम कसैबाट हुन्छ भने कानूनअनुसार कारबाही हुन्छ।’

डीएसपी अधिकारीले कानून र नियमको सबैले पालना गर्नुपर्ने भन्दै अबैध गतिविधि भए प्रहरी चप लागेर नबस्ने बताए।

अध्यक्ष मल्लले भनेका छन्, ‘कसैले अवैध काम गर्ने अनि गाउँपालिकाले अदालत र अख्तियारमा तारेख बोक्ने कि जनताको काम गर्ने?’ ब्लक उद्योगको अनुमति लिएर क्रसर उद्योग सञ्चालन भएको विषयमा अध्यक्ष मल्ल र वडा नं. ७ का वडाध्यक्ष टुंगनाथ आचार्यले अख्तियारमा गएर दुई पटक बयान समेत दिइसकेका छन्। वडाध्यक्ष आचार्य नेकपाबाट निर्वाचित हुन्। उनकै पार्टीका नेताबाट सञ्चालित ब्लक उद्योग अबैध रुपमा चलेखेपछि आचार्यलाई तनाब भएको छ।

नेकपाबाट निर्वाचित वडा नं. ७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बागेश्वरीले ब्लक उद्योगको अनुमति लिएर क्रसर उद्योग सञ्चालन भएको बताए । ‘उहाँहरूले क्रसर उद्योग सञ्चालनको अनुमति लिनुभएको छैन।’, आचार्यले भने, ‘हामीले क्रसर उद्योग सञ्चालनको अनुमतिका लागि सिफारिस पनि दिएका छैनौँ। बागेश्वर ब्लक उद्योगले क्रसरको अबैध काम गरेको छ।’

बागवीर घर्ती क्षेत्रीको नाममा दर्ता भएको ‘बागेश्वरी गग्रिगेट एण्ड ब्लक उद्योग’लाई उनका छोरा शिवबहादुर घर्ती क्षेत्री सञ्चालन गर्दै आएका छन्।

अवैध रुपमा सञ्चालित उद्योग बन्द गर्न स्थानीय सरोकारवालाहरूले गाउँपालिकामा पटक–पटक लिखित उजुरी दिएका थिए।

ब्लक उद्योगको नजिकै शव सतगत गर्ने स्थान पनि छ। उद्योगले त्यो स्थानलाई तहस नहस बनाएपछि स्थानीयले गाउँपालिकामा उजुरी गरेका हुन्।

पर्वत जिल्लाबाट पूर्वएमालेबाट निर्वाचित गणेश तिमिल्सिना राष्ट्रिय सभाको अध्यक्ष छन्। पर्वत जिल्लाको प्रतिनिधि सभा र प्रदेसभा दुबैमा नेकपाले जितेको छ।

Published : Monday, 2020 September 21, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया